समाचार
भीरकोटमा ६७ युनिट रगत संकलन
रेडियो आँधीखोला,
वालिङ १४ बैसाख ।
सन्त निरंकारी मण्डल नेपाल बयरघारी शाखाको आयोजनामा शनिवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, स्याङ्जाको प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा ४२ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेको संस्थाका अध्यक्ष(मुखी) भिम बहादुर थापाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, दहथुम उपशाखा, भीरकोट जेसिज र लायन्स क्लब अफ भीरकोटले सहकार्य र समन्वय गरेको संस्थाका पूर्व अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार निरंकारी मण्डलले मानव एकता दिवसको अवसर पारेर वि. स. २०६४ देखी निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । “रगत नालीमा होइन, नाडीमा बगाऔं” नाराका साथ संस्थाले हरेक वर्ष विश्व मानव एकता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको ब्लड बैंक र रक्त संचार केन्द्र पोखरा पठाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले निरंकारी मण्डलले निरन्तर रक्तदान कार्यक्रम गरेर मानव सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा प्रशंशा गर्नुभयो । रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिदै उहाँले धर्मले सबैलाई मानव एकताको पक्षमा उभ्याएकोमा खुशी व्यक्त गर्नुभयो । मानव एकता दिवसको पूर्व सन्ध्यामा संस्थाले बयरघारी बजारको सरसफाई समेत गरेको थियो । संस्थाले हरेक वर्ष अप्रिल २४ का दिन विश्व मानव एकता दिवस मनाउँदै आएको छ। निरंकारी मण्डलले दहथुम देखि ओडारेसम्मको सिद्धार्थ राजमार्गको दायाँबायाँ सरसफाई गरेको हो । “हाम्रो रहर सफा भीरकोट सहर, स्टप पोलुसन बिफोर इट स्टाप्स यु, सफा मन र स्वस्थ मनका लागी स्वच्छ वातारण” लेखिएका चेतनामूलक व्यानर र प्लेकार्ड सहित बालबालिकाहरूले पनि सरसफाइमा सक्रिय सहभागिता जनाएका थिए ।
सरसफाई कार्यक्रममा सन्त निरंकारी मण्डलका सदस्यहरू, भीरकोट नगरपालिकाका प्रमुख गोबिन्द कुमार कर्माचार्य, प्रवक्ता दिपेन्द्र के.सी, नेपाल रेडक्रस सोसाइटी, दहथुम उपशाखा, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, दहथुम प्रहरी चौकीका प्रहरी र स्थानीयहरूको सहभागिता रहेको थियो ।