समाचार
फेदीखोलामा फोहोर मैला सङ्कलन, वर्गीकरण र व्यवस्थापन शुभारम्भ
वालिङ, १४ वैशाख ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले फोहोर मैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापनको शुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमकाबिच बहुउद्देश्यीय सभा हलमा गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले फोहोर मैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापनको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष सुवेदीले टोकरी (डस्विन)मा सङ्कलित फोहोरलाई गाडीमा राखेपछि फोहोर मैलाको सङ्कलन, वर्गीकरण तथा व्यवस्थापन कार्यक्रमको शुभारम्भ भएको हो ।
दीर्घकालीन प्रभावकारिताका लागि लामो समयदेखि छलफल, परामर्श, अन्य ठाउँमा भएका असल अभ्यास, विज्ञसँग परामर्श तथा अध्ययन गरी फोहोर मैला व्यवस्थापन कार्यविधि सञ्चालनमा ल्याएर फेदीखोला गाउँपालिकामा यो योजना अगाडि बढाइएको हो । गाउँपालिकाका अध्यक्ष सुवेदीले कार्यक्रमको शुभारम्भ गर्दै फोहोर व्यवस्थापनको वैज्ञानिक अवधारणा अनुसार पालिका अगाडि बढेको बताउनुभयो । उहाँले तालिका बनाएरै टोल टोलमा पुगेर नकुहिने फोहोरको सङ्कलन पश्चात् वर्गीकरण गरिने बताउनुभयो ।
‘फोहोर मैला नगरौँ खोलामा फोहोर नफालौँ, कुहिने वस्तुहरूको व्यवस्थापन घरमै गरौँ । नकुहिने वस्तुरूको आम्दानी हुन्छ । सिसा, प्लास्टिक, कागज, फलमाबाट पैसा आउँछ’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘आफ्नो टोल सुन्दर बनाउन तपाई हामी मिलेर अगाडि बढौँ । जसरी आज आमा औँसीका दिन आमाको आशीर्वाद लिएका छौँ । त्यसरी सभ्यताको पनि आशीर्वाद लिएर सबैको साझा अभियान सफल बनाउन सक्रियता पूर्वक साप्ताहिक गतिविधिमा संलग्न बनौँ ।’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
फेदीखोला गाउँपालिका भित्र फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित विषय विज्ञ कृष्ण भण्डारीले प्राविधिक सहयोग र सहजीकरण गर्ने भएका छन् । कार्यक्रम गाउँपालिकाका प्रवक्ता तथा वडा न २ का अध्यक्ष अविलाष गुरुङको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरू, जनप्रतिनिधि, टोल विकास संस्थाका संयोजक, राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी, स्वास्थ्य संस्थाका, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीयहरूको उपस्थिति थियो ।