समाचार
वालिङ–१४ चालिसेमा प्रथम महायज्ञ हुने
आरती कुँवर
वालिङ, १५ वैशाख ।
स्याङ्जाको वालिङमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कालिका आध्यात्मिक प्रतिष्ठानको आयोजनामा वालिङ– १४ चालिसेमा राष्ट्रशान्ती हेतु वैदिक सनातन धर्म रक्षार्थ १०८ मध्येको प्रथम श्रीमद्भागवत सप्ताह, तण्डुलाचल ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती २०८२ हुने भएको हो । यही वैशाख २४ गते देखी ३० गते सम्म वालिङ नगरपालिकाको सहआयोजना तथा वालिङ, १४ नं वडा कार्यालयको संयोजकमा विभिन्न कार्यक्रम सहित एक हप्ते ज्ञान महायज्ञ गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।
कालिका आध्यात्मिक प्रतिष्ठानको धाम निर्माण गर्ने, अनाथ आश्रम निर्माण एवम् अन्न क्षेत्र निर्माण गर्ने मुल उदेश्य राखेर महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस्तै समाजमा रहेका वृद्धवृद्धा, असक्त तथा अनाथलाई सहयोग गर्ने लगायत कार्य गर्ने उदेश्य समेत राखिएको अध्यक्ष तिवारीको भनाई छ ।
दैनिक बिहान ७ बजेदेखी १२ बजेसम्म पुजा, पाठ पारायण, शिव भगवानलाई पञ्चामृतद्धारा अभिषेक, गौ पुजन तथा कन्या पुजन, पञ्चदेवताको पुजा आरधना साथै राधाकृष्णको पुजा अर्चना, १००८ शालिग्राम शिला पुजा अर्चना, पशुपतिनाथ मन्दिरमा जस्तै आरती, सन्ध्याकालिन लक्ष्यवर्ति दीप प्रज्वलन, १०८ शिवलिङ्ग स्थापना, १ हजार ८ शालिग्राम भगवानको पुजा आरधना गर्ने लगायतका कार्यक्रमहरु रहने उहाँले जानकारी दिनुभयो । यस्तै भजन गायकहरुको समेत प्रस्तुती रहने छ ।
महायज्ञमा प्रतिष्ठानका अध्यक्ष पण्डित प्रकाश तिवारी प्रमुख कथा वाचक, पण्डित हरि गैह्रे उप वाचक तथा पण्डित प्रकाश डुम्रेले पाठ पारायण गर्नुहुनेछ । नेपालको मौलिक धर्म, संस्कृति, परम्परा, वैदिक शास्त्र, मठमन्दिर, नदीघाट लगायत पुजापाठका विधिविधान प्रचलित ज्ञानविज्ञानका विषयहरुको विकासमा क्रियाशील हुने ध्येयले कालिका आध्यत्मीक प्रतिष्ठानको स्थापना गरिएको हो ।