समाचार
गल्याङ आधिखोला महोत्सव ३ दिन थपियो
वालिङ, १५ वैशाख ।
खेलमैदान निर्माणको अभियानसहित स्याङ्जाको गल्याङ नगरपालिका ३, तल्लो गल्याङ खेलमैदानमा जारी गल्याङ आधिखोला महोत्सव २०८२ तीन दिन थपिएको छ । दर्शकहरुको संख्या दिनदिनै बढ्दै गएपछि दर्शकको माग अनुसार महोत्सव तीन दिन थपिएको आयोजक तल्लो गल्याङ खेलमैदान व्यवस्थापन समितिले जनाएको छ ।
“कृषि, उद्योग र पर्यटनको साथ खेल मैदान निर्माणको अभियान” भन्ने नारा सहित सञ्चालन भैरहेको महोत्सव सोमबार सकिने भएपनि समय थपिएपछि अब बैशान १८ गते मात्रै महोत्सव सकिनेछ । महोत्सवमा सोमबार चर्चित आधुनिक गाकय कमल खत्री, लोकदोहोरी गायिका तारा थापा, गायक उज्जवल गिरी लगायतको प्रस्तुति रहेको थियो ।
महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका सम्झना लामिछाने मगर, उमादेवी खनाल, पलसिंह ठकुरी लक्ष्मण, विजुन केसी लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सबमा लोकदोहोरी गायक तथा उद्घोषकहरु घनश्याम रिजाल र जगत गौडेलको दैनिक प्रस्तुति रहेको छ ।
महोत्सवमा रत्यौली गित प्रतियोगिता, गल्याङ डान्स आइडल तथा स्थानीय जातीय संस्कृतिको प्रस्तुति पनि रहेको छ । गल्याङ डान्स आइडलमा टप टेन विचको प्रतिस्पर्धामा दर्शकको टिकटलाई पनि भोटिङको आधार मानिएको छ । जसअनुसार खरिद गरिएको टिकट आफुलाई मन पर्ने प्रतिस्पर्धीको फोटो रहेको बाकसमा दर्शकले मत दिन पाउनेछन् ।
स्थानीय तह, विभिन्न संघसंस्था र व्यवसायिक क्षेत्रको सहकार्यमा जारी महोत्सवको मुख्य उद्देश्य खेलमैदानको पूर्वाधार निर्माण गर्नु रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवेशमा निःशुल्क पासको व्यवस्था गरिएको छ । महोत्सवबाट २० लाख आम्दानी हुने लक्ष्य राखिएको छ ।