समाचार
गल्याङ नगरपालिकाले नसर्ने रोग परिक्षण शिविर गर्ने
वालिङ, १५ वैशाख ।
स्याङ्जाको गल्याङमा मंगलबार नसर्ने रोगको निशुल्क स्क्रिनिङ शिविर संचालन हुने भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा गल्याङ नगरपालिका वडा नम्बर तीन बल्पुकमा रहेको गल्याङ नगर अस्पतालमा नसर्ने रोगको निशुल्क स्क्रिनिङ शिबिर हुने भएको हो ।
शिबिरमा नसर्ने रोगको परिक्षण साथै उपचार परामर्श हुने गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा ३० वर्ष उमेर माथिका सबै वडाका नागरिकहरुले निशुल्क स्वास्थ्य परिक्षण गरी स्वास्थ्य लाभ लिन पनि उहाँले बताउनुभयो । ३० वर्ष उमेर भएपछि नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको अवस्थामा समयमै रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले शिबिरको आयोजना गरिएको नगरप्रमुख भट्टराईको भनाई छ ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णुप्रसाद ओलीले शिबिरमा मृगौला स्वास्थ्य जाँच, कलेजो स्वास्थ्य जाँच, मुटु स्वास्थ्य जाँच, मधुमेह जाँच, फोक्सो स्वास्थ्य जाँच र पाठेघरको क्यान्सर स्क्रिनिङ पनि हुने जानकारी दिनुभयो । उहाँका अनुसार शिबिरमा स्याङ्जा अस्पतालका विशेषज्ञ चिकित्सकहरुको समेत सहभागितामा सेवा प्रवाह हुनेछ । स्वास्थ्य संयोजक ओलीले शिबिरमा सहभागी भएर लाभ लिन सम्पूर्ण नगरबासीलाई आग्रह पनि गर्नुभएको छ ।
यसैबीच गल्याङका तीन वडामा माटो परिक्षण अभिमुखिकरण कार्यक्रम हुने भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा तीन वटा वडामा मंगलबार माटोको नमुना संकलन अभिमुखिकरण कार्यक्रम हुने भएको हो ।
गल्याङ नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा विहान साढे दश बजे, दिउसो वडा नम्बर २ को वडा कार्यायल र वडा नम्बर तीनको वडा कार्यालयमा दिउसो साढे दुई बजे कार्यक्रम हुने गल्याङ नगरपालिकाले जनाएको छ ।
माटोको नमुना संकलन अभिमुखिकरण कार्यक्रममा सहभागि हुन अगुवा कृषक, कृषक समूह तथा सरोकारवालाहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।