समाचार
आगोलागीबाट गोठमा क्षति
वालिङ, १५ वैशाख ।
स्याङ्जाको कालीगण्डकीमा आगोलागी हुँदा गोठमा क्षति भएको छ । आईतबार राति ३ बजेको समयमा कालीगण्डकी ४ गोगुङ्गा का ६५ वर्षीय केशर सिंह रानाको ढुङगा माटोले बनेको खरको छाना भएको २ तले कच्ची गोठमा अचानक आगोलागी हुँदा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गोठभित्र रहेको भैँसी–१ वटा र बाख्रा–३ वटा मरेको छ भने उक्त आगो गोठबाट अन्दाजी २ कि.मि. टाडा रहेको ३५ वर्षीय मिनकला थापा मगरको ढुंङगा माटोले बनेको जास्ताको छाना भएको ३ तले कच्ची घरमा समेत क्षति गरेको छ । थापाको घरको दोस्रो तलाको झ्यालमा आगो सल्किन जाँदा काठको झ्याल(१ वटा) र छानोमा समेत क्षति भएको, मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगोलागी विहान ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी ३ (तीन) लाख क्षति भएको प्रहरीको प्रारम्भीक तथ्यांक छ । आगोलागीको कारण भने नखुलेका कारण यस विषयमा प्रहरीले अनुसन्धान गरिहेको छ ।