समाचार
गोरू काट्ने १ जना पक्राउ
वालिङ, १८ वैशाख ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोरु काट्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार १२ पेल्काचौर सिम्लेमा गोरू काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ४० वर्षका टेक भन्ने डम्वर वहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो ।
आफ्नै घरमा पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगि फलामको घन समेतले टाउकोमा प्रहार गरी मारेर मासु काटी टुक्रा टुक्रा बनाई आफ्नो घरको आगनमा ल्याएर त्रिपालमा लुकाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब उपक्षिक हरिप्रसाद पौडेलले बताउनुभयो । सूचना पाएपछि प्रहरी गुरुङको घरमा पुग्दा फरार रहेका गुरुङ बुधबार पुतलीबजार–१२ पेल्काचौरमा पक्राउ पर्नुभएको हो । गुरुङलाई पशुपक्षी सम्बन्धि कसूर मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १० को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रनाउ पौडेलले बताउनुभयो ।
यसैबीच अर्जुनचौपारी गाउँपालिका वडा नम्बर –०१ माथिल्लो बजार स्थित बाणिज्य बैक चोकमा ७० वर्षीय छबिलाल घर्ति क्षेत्री मृत अवस्थामा भेटिनुभएको छ । घर देखी अन्दाजी ६०० मिटर पूर्व तर्फ मृत अबस्था रहेको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी घटनास्थलमा पुगेको थियो । आज विहानै घरबाट निस्कनुभएको क्षेत्रि धेरै समय मादक पदार्थ सेवन गरी हिड्ने गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।