समाचार
मादल बजाउने तालिम सुरु
वालिङ, १८ वैशाख ।
पुतलीबजार नगरपालिका वडा न ५ मा मादल बजाउने तालिम सुरु भएको छ । वडा न ५ को महिला सञ्जालको आयोजना तथा वडा न ५को सहयोगमा सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले गाउँघरमा रहेको सस्कृति तथा धार्मिक कार्यक्रममा मादल बाद्यबाधनको रुपमा प्रयोग हुने र परम्परागत सांस्कृतिक महत्वको बस्तु मादलको उपयोग गर्ने उदेश्यले तालिम सञ्चालन भएको बताउनुभयो ।
मौलिक संस्कृतिहरु हाम्रो पहिचान र चिनारी भएकाले यस्ता सामग्रीहरुको सहि सदुपयोग गर्दै आयआर्जनमा समेत जोडिनुपर्नेमा प्रमुख रेग्मीको जोड थियो । कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा न ५ का अध्यक्ष अर्जुन कुमार काकी, वडा न १ का वडा सदस्य बिष्णु कुमार श्रेष्ठ, टोल संयोजक रमेश रेग्मी, अस्थायी प्रहरी चौकी पौवैगौडेका प्रमुख ओम प्रकाश थापा, प्रशिक्षक श्याम जि.टि. लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । वडा महिला संजालका अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सन्तोष रेग्मीले स्वागत एवम् कार्यक्रम सञ्चालन अस्मिता मरासिनीले गर्नुभएको थियो ।
त्यस्तै पुतलीबजार ४ मा पनि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । वडा न ४ को आयोजना तथा चण्डीकालिका एडभटाइजिङको व्यवस्थापनमा सीप विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागी ७ दिने मादल बजाउने तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने गराउने उद्देश्यले मादल बजाउन सिकाउने तालिम उपलब्ध गराएको बताउनुभयो ।
नगर उपप्रमुख अर्यालले तालिमको सही सदुपयोग गर्दै आफुले सिक्ने र अरुलाई पनि सिकाउन सुुझाव दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य संचिता नेपाल अर्याल, वडा सदस्य पृथ्वी पोख्रेल, सुरेन्द्र केसी, मिना परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे । वडा नं. ४ कार्यवाहक अध्यक्ष लिलावती पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव बल बहादुर थापाले स्वागत एवम् कार्यक्रमको सञ्चालन संचारकर्मी विक्रम संवत्ले गर्नुभएको थियो । तालिमको प्रशिक्षण विनोद घताने, विजय विश्वकर्मा र सफल सापकोटाले गर्नुहुनेछ ।