समाचार
कालिगण्डकी गाउँपालिकामा २६ गतेवाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
रेडियो आँधीखोला
वालिङ, २३ वैशाख ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका, स्याङ्जामा २०८२ वैशाख २६ गतेदेखि जेठ ८ गतेसम्म १४ दिने राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु हुने भएकोे छ । फोटो र बायोमेट्रिक डाटा संकलनका लागि गाउँपालिकाको कार्यालय गहलाममा विशेष स्टेशन स्थापना गरिएको गाँउपालिका कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङमा उपस्थित हुन नसक्ने वृद्ध, अशक्त, अपाङ्ग तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई प्राथमिकता दिँदै यो अभियान सुरु गरिने भएको हो । वैशाख २६ गतेदेखि तोकिएको तालिका अनुसार वडागत रूपमा विवरण संकलन गरिनेछ ।
विवरण संकलनका लागि सम्बन्धित वडाका नागरिक तोकिएको मितिमा अनिवार्य रूपमा गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुपर्नेछ । विवरण संकलनको क्रममा नेपाली नागरिकता प्रमाणपत्र, वैवाहिक हकमा विवाह दर्ताको प्रमाणपत्र, पति–पत्नी दुवैको नागरिकता, र मृत्युसम्बन्धी हकमा मृत्यु दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा ल्याउन अनुरोध गरिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको वडागत तालिका अनुसार विवरण संकलन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोख्रेलले जानकारी दिनुभयो । गाउँपालिकाले सबै नागरिकलाई समयमै विवरण संकलन गराई आवश्यक कागजातसहित सहभागी हुन आह्वान गरेको पोख्रेलले जानकारी दिनुभयो ।
विवरण संकलनका लागि वैशाख २६ र २७ गते वडा नं ४, २८ र २९ गते वाड नं १, ३० र ३१ गते वाड नं २, जेठ १ र २ गते वाड नं ३, ३ र ४ गते वाड नं ५, ५ र ६ गते वाड नं ६, ७ र ८ गते वाड नं ७ को विवरण संकलन गरिने तालिका गाँउपालिकाले सार्वजानिक गरेको छ ।
यसैबीच प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व. २०८१÷८२ मा कालीगण्डकी गाउँपालिकाका ४० जना युवाहरुले जीवनउपयोगी सीपमूलक तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गर्नु भएको छ । तालिम चालु आ.व.का लागि दर्ता भएको सुचिकृत बेरोजगार नागरिकहरुका लागि लक्षित गरी सञ्चालन गरिएको हो । २०८१ फागुन २२ गतेबाट कालिगण्डकी क्याम्पस अर्चलेमा सुरु भएको पलम्बर तालिममा २० र इलेक्ट्रिसियन तालिममा २० जनालाई लक्षित गरी सञ्चालन भएको थियो । कार्यस्थलमा आधारित सीप विकास तालिम २४० घण्टा र जीवन उपयोगी सीप विकास तालिम ५० घण्टा गरि कुल २९० घण्टाको तालिम प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, उपाध्यक्ष साबित्रा कोइराला, वडा नं ४ का वडा अध्यक्ष यादव प्रसाद पाण्डेले मन्तव्य राख्नु भएको थियो भने तालिममा सहभागी हुनेहरु मध्येबाट सरिता न्यौपाने र मुक्त बहादुर रानाले आफ्नो अनुवभ साझा गर्नुभएको थियो । उक्त समापन कार्यक्रमको सञ्चालन रोजगार संयोजक भागिरथ अधिकारीले गर्नुभएको थियो ।