समाचार
प्रनाउ शाह र पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, २३ वैशाख ।
वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा सरुवा भई आउनुभएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक दीपककुमार शाह र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम गरिएको छ । वडा प्रहरी कार्यालय वालिङमा नवआगन्तुक प्रहरी प्रमुखलाई स्वागत गर्नुकासाथै विभिन्न विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।
अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट सरुवा भई वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा आउनुभएका शाहले जिल्लामा क्रियाशिल पत्रकारहरुको न्यानो स्वागतले थप उत्साह बढेको बताउनुभयो । कार्यालयले शान्ति सुरक्षा लगायतका कार्यक्षेत्रभित्रका विभिन्न क्षेत्रहरुमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदीप कोईरालाले एकापसमा सूचनाहरुको आदान प्रदान तथा समन्वय र सहकार्यकालागि साथ र सहयोग रहने बताउनुभयो । स्वागत तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टरमा आवद्ध रहेका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।