समाचार
स्याङ्जाका ११ वटै पालिका पुर्ण खोप सुनिश्चित
रेडियो आँधीखोला
वालिङ, २६ वैशाख ।
स्याङ्जाका ११ वटै पालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण भएका छन् । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरुले पाउने ७ पटकमा १३ वटा रोग विरुद्धको ९ प्रकारका खोप लगाएको सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण हरेक वर्ष गरिँदै आईएको छ ।
२०७५ साल असार ३१ ग्ते पुर्ण खोप घोषणा भएको स्याङ्जामा त्यसयता हरेक वर्ष खोप लगाएको प्रमाणीकरण गरिँदै आईएको प्रदेश स्वास्थय कार्यालय स्याङ्जाका क्षयकुष्ठ निरिक्षक मनिषकुमार झाले बताउनुभयो । प्रदेश स्वास्थ्य कार्यालय स्याङ्जाले सम्बन्धीत स्वास्थ्य साखा तथा पालिकाको सहयोगमा पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण कार्यक्रम यही बैसाख ९ गतेदेखि २४ गतेसम्म सम्बन्धीत पालिकामै गई कार्यक्रम गरेको हो ।
जिल्लाका २ हजार ७४६ जनाले जन्मेदेखि १५ महिनाभित्र पाउने खोप सम्पुर्ण खोप लगाएका छन् । पुर्ण खोप सुनिश्चित प्रमाणीकरणमा १६ देखि २३ महिना सम्मका बालबालिकाको खोप तथ्यांक संकलन गरिएको थियो । ११ पालिका रहेको जिल्लामा पुतलीबजारका ५२३ बालबालिका, भीरकोट नगरपालिकाको २५३ जना, हरिनास गाउँपालिकाको १३१ जना, विरुवा गाउँपालिकाको ८६ जना, गल्याङ नगरपालिकाको ३२३ जना, आँधीखोला गाउँपालिकाको १४६ जना, अर्जुनचौपारीको १५७ जना, वालिङ नगरपालिकाको ६२० जना, फेँदिखोला गाउँपालिकाका ११४ जना कालीगण्डकी गाउँपालिकाका २०५ जना र चापाकोट नगरपालिकाका १८८ जना बालबालिकाले पुर्ण खो प्राप्त गरेका छन् ।
जन्मदेखि १५ महिनासम्मका बालबालिकाले क्षयरोग, पोलियो, झाडापखला, भ्यागुते रोग, लहरे खोँकी, धनुष्टंकार, हेपटाईटिस बि, हेमोइन्फ्युएन्जा बि, निमोनिया, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाईटिस र टाईफाईड गरी १३ रोग विरुद्धको खोप लगाउँछन् । सबै पालिका पुर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण भईसकेसंगै अब जिल्ला पनि एक कार्यक्रम गरी छिट्टै पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण हुँनेछ । कोहि पनि बालबालिका खोप लगाउनबाट वञ्चित नहुँन भन्दै यो प्रमाणीकरण अभियान गरिएको हो ।