समाचार
थापा परिवारद्धारा विद्यालयलाई अक्षयकोषका लागी १ लाख १११११ प्रदान
वालिङ, २७ वैशाख ।
थापा परिवारले बाल कल्याण आधारभुत विद्यालय वालिङ ९ मा अक्षयकोष स्थापनाका लागी नगद १ लाख ११ हजार १११ प्रदान गर्नुभएको छ । वालिङ ९ गहतेडाँडाका श्रीमती नीरमाया थापा, आमा भीमकुमारी थापा, छोराबहुरीहरु रामबहादुर चिनु, केशरबहादुर अनु र दिपक मना थापाले विद्यालयमा आफ्ना स्व. पति, छोरा तथा बुवा धनबहादुर थापाकोे स्मृतिमा विद्यालयमा उक्त रकमको अक्षयकोष स्थापनाका लागी शुक्रबार विद्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रदान गर्नुभएको हो ।
उक्त नगद हस्तान्तरण गर्दै थापा परिवारले विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी अक्षयकोषको स्थापना गरेको हो । उक्त अक्षयकोषबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक पुर्णकुमारी थापाआलेले बताउनुभयो । विद्यालयमा आयोेजित पुरस्कार वितरण तथा अक्षयकोष स्थापनाका लागी नगद हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि हुमबहादुर गाहाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागी वडा तथा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सल्लाहकार जितबहादुर थापाले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक टोपबहादुर थापाक्षेत्रिले गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०८१ को अन्तिम परिक्षामा उत्कृष्ठ हुँने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।