समाचार
१५ दिने क्याटरिङ तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २८ वैशाख ।
वालिङमा १५ दिने क्याटरिङ तालिम सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङ नगर समितिको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोग र धवलागिरी प्राविधिक शिक्षालय थासाङ मुस्ताङको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको समापन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले तालिममा सिकेका विषयलाई कार्यान्वयनमा पक्षमा लैजान सहभागिलाई आग्रह गर्नुभयो । जब मान्छे सिपयुक्त हुन्छ त्यस्तो व्यक्ति हरेक ठाउँमा पनि सक्षम बन्न सक्ने भएकाले नगरपालिकाले सिपमुलक तालिमहरुलाई प्राथामिकतामा राखेको बताउनुभयो ।
साथै स्थानीय रुपमा उद्यमशीलतामा लाग्नको लागी पनि नगरपालिकाले प्राविधिक सहयोग गर्ने भन्दै सिपको सहि उपयोग गर्न आग्रह गर्नुभयो । तालिमको समापन कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापा, नेपाल मगर संघ निर्वाचन आयोग उपसमिति सदस्य तेजबहादुर आले, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य क्या. डिलबहादुर थापा, नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष तथा तालिमको अनुगमन समिति संयोजक उमेश दर्लामी, नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष कृष्ण थापा, भुपूसैनिम माविका प्रिन्सीपल सोमुमाया राना, प्रशिक्षार्थी नारायण सारुलगायतले तालिम निकै फलदायी रहेको भन्दै यसलाई कार्यान्वयको पक्षमा लैजान सुझाव दिनुभयो ।
कार्यक्रम नेपाल मगर संघ वालिङका अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष खिमबहादुर थापा र संचालन सचिव सुवेदार कुलबहादुर थापाले गर्नुभएको थियो । तालिममा २८ जनाको सहभागिता रहेको थियो भने तालिममा धवलागिरी प्राविधिक शिक्षालय मुस्ताङका जयप्रकाश गुरुङले प्रशिक्षण दिनुभएको थियो ।