समाचार
गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता
कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ।
कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित आज कोटिहोम सङ्गीतमय बन्यो ।
शुक्रबार प्रमुख अतिथीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य भएको कोटिहोममा टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आएका छन् ।
सोहि अबसरमा प्रमुख प्रशासकीय अधिकृत बिसीको भजनको भिडियो विमोचन गरि २५ हजार रुपैयाँ दान गरेका छन्। यसै गरि पोखरा महानगरपालिका वडा न १६ स्थित हरिलक्ष्मी गुरुङद्वारा १ लाख १ सय ५ रुपैयाँ,पोखरा महानगरपालिका वडा न ६ स्थित कमला गिरि द्वारा १ लाख २१ हजार र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरबाट २५ रुपैयाँ सहित अन्य ब्यक्तिबाट दान प्राप्त भएको छ।
कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई बिहान १० बजे सम्मान गर्ने तयारी भएको छ ।
शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।
महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोममा साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन, आशीर्वाद तथा सङ्घीय प्रदेश सरकारका मन्त्री तथा सांसद, राजनितिक दलका नेता तथा समस्त भक्तजनको उपस्थितिले महायज्ञ सफल भईसकेको बताए ।