समाचार
स्याङ्जाका स्थानीय तहको बेरुजु १६ करोड, सबैभन्दा बढी चापाकोटमा
वालिङ, २ जेठ ।
स्याङ्जाका एघारवटा स्थानीय तहको १६ करोडभन्दा बढी बेरुजु देखिएको छ । जिल्लाका एघार स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ मा १६ करोड २० लाख ७ हजार बजेट बेरुजु देखिएको हो । रकमको आधारमा जिल्लामा सबैभन्दा बढी बेरुजु चापाकोट नगरपालिकामा ३ करोड ११ लाख ४२ हजार रहेको छ भने सबैभन्दा कम विरुवा गाउँपालिकामा १३ लाख ८३ हजार रहेको छ । एघार स्थानीय तहको रु १६ अर्ब २० करोड १३ लाख ३० हजारको महालेखापरीक्षकको कार्यालय गरेको लेखापरीक्षण गर्दा करिव १ प्रतिशत बेरुजु देखिएको छ ।
प्रतिशतको आधारमा जिल्लाको सबैभन्दा बढी बेरुजु हरिनास गाउँपालिकामा ४.६३ प्रतिशत देखिएको छ भने सबैभन्दा कम विरुवा गाउँपालिकामा ०.१२ प्रतिशत मात्रै रहेको पाइएको छ । नगरपालिकाहरुमध्ये रकमको आधारमा नगरपालिकामा सबैभन्दा बढी बेरुजु चापाकोट नगरपालिकामा देखिएको छ भने सबैभन्दा कम गल्याङ नगरपालिकामा देखिएको छ ।
गल्याङ नगरपालिकामा रु १ अर्ब ७९ करोड ५३ लाख ४४ हजारको लेखापरीक्षण गर्दा १ करोड १८ लाख २१ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । चापाकोट नगरपालिकामा १ अर्ब ५२ करोड ४२ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ३ करोड ११ लाख ४२ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी पुतलीबजार नगरपालिकामा २ अर्ब ३९ करोड ४७ लाख ८२ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख ३३ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भीरकोट नगरपालिकामा १ अर्ब ५६ करोड ४६ लाख ७ हजारको लेखापरीक्षण गर्दा १ करोड २४ लाख ८८ हजार बेरुजु देखिएको छ । वालिङ नगरपालिकामा २ अर्ब २८ करोड ७६ लाख ७७ हजारको लेखापरीक्षण गर्दा २ करोड ३० लाख ३० हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु हरिनास गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम विरुवा गाउँपालिकामा देखिएको छ । अर्जुनचौपारी गाउँपालिकामा ९९ करोड ३५ लाख २० हजारको लेखापरीक्षण गर्दा ३६ लाख ५५ लाख बेरुजु देखिएको छ । त्यसैगरी आँधीखोला गाउँपालिकामा १ अर्ब २१ करोड ८१ लाख ७९ हजारको लेखापरीक्षण गर्दा ९४ लाख ८० हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । कालीगण्डकी गाउँपालिकामा १ अर्ब ३१ करोड ५७ लाख ३१ हजारको लेखापरीक्षण गर्दा ३१ लाख ६७ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी फेदीखोला गाउँपालिकामा ९३ करोड १५ लाख ९४ हजारको लेखापरीक्षण गर्दा ३१ लाख ६७ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । विरुवा गाउँपालिकामा १ अर्व १३ करोड ७० लाखको लेखापरीक्षण गर्दा १३ लाख ८३ हजार बेरुजु देखिएको छ । हरिनास गाउँपालिकामा १ अर्व ३ करोड ८५ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ४ करोड ८१ लाख १२ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।
स्थानीय तहले पूर्वतयारी विनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।