समाचार
मौरीपालक किसानहरुलाई मौरीपालन सम्बन्धी दुई दिने तालीम
रेडियो आँधीखोला
वालिङ, ५ जेठ ।
मौरीपालक किसानहरुलाई मौरीपालन सम्बन्धी दुई दिने तालीम प्रदान गरिएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरको आयोजनामा विरुवा गाउँपालिकाको सभा हलमा दुई दिन तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले मौरीको मह सेवनले जीवनमा धेरै प्रकारको फाइदा हुने भएकाले तालिम पश्चात मौरीपालनमा थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले किसानहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै किसानलाई कार्य अनुसारका तालिम तथा कार्यक्रमहरु थप सञ्चालन गर्दै जाने बताउनुभयो ।
तालिमको दोस्रो दिन कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले प्रशिक्षण दिनुभएको हो । नेपाल मौरीपालक महासंघ स्याङ्जाका अध्यक्ष श्यामप्रसाद अर्यालले स्थलगत र व्यावहारिक प्रशिक्षण सेवा प्रदान भएको थियो । कार्यक्रममा सहभागी किसानहरुलाई टोपी, पञ्जा र क्वीनगेट वितरण गरिएको छ । कीट विकास केन्द्रका कार्यालय प्रमुख भवनाथ देवकोटाको अध्यक्षतामा सम्पन्न तालिममा विरुवाका ३० जना मौरीपालक किसानहरुको सहभागिता रहेको थियो ।