समाचार
कालीगण्डकीमा वाटर फिल्टर वितरण
रेडियो आँधीखोला
वालिङ, ६ जेठ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले वाटर फिल्टर वितरण गरेको छ । पालिकाबासीलाई स्वस्थ बनाउने उद्देश्य सहित गाउँपालिकाको आयोजनामा वाटर फिल्टर वितरण गरिएको हो । ‘स्वास्थ्य तथा हृष्टपुष्ट बालबालिका हाम्रो पहिचान, पोषणमैत्री पालिका निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ वडा कार्यालय, गाउँपालिका भित्रका स्वास्थ्य संस्था, सम्पुर्ण सामुदायिक साथै संस्थागत विद्यालयहरु एवम् अस्पतालहरुमा पानी शुद्विकरणका लागि ३३ वटा वाटर फिल्टर हस्तान्तरण गरिएको हो ।
आइतबार कालीगण्डकी गाउँपालिकाको सभाहलमा भएको वाटर फिल्टर हस्तान्तर कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले गाउँपालिकालाई पोषणमैत्री स्थानिय शासन र बालमैत्री स्थानीय शासनमा लैजान लागेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा गुणस्तरीय खानेपानी गाउँपालिका भित्रका नागरिकहरुले पाउनु पर्छ भन्दै सेवा प्रदायक प्रत्येक संघ संस्थामा वाटर फिल्टर वितरण गरेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले खानेपानीका कारण धेरै रोगहरुको संक्रमण हुन सक्ने भएकाले वाटर फिल्टर वितरण कार्यक्रमबाट सेवाग्राही स्वस्थ हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्ययले कार्यक्रमको उदेश्य बारे जानकारी दिनुभएको थियो ।