समाचार
चापाकोट १ द्धारा विपन्न परिवारको लागी १६ वटा शौचालय निर्माण
रेडियो आँधीखोला
वालिङ, ८ जेठ ।
चापाकोट नगरपालिका वडा नं. १ मा दलित तथा विपन्न परिवारका लागी शौचालय निर्माण कार्यक्रम अन्र्तगत अहिलेसम्म १६ वटा शौचालय निर्माण सम्पन्न भएका छन् । वडामा रहेका मध्ये दलित परिवार तथा दलित समुदायमा पनि विपन्न तथा अन्य विपन्न परिवारका लागी वडा नं. १ ले ३ आर्थिक वर्षको अवधिमा १६ वटा शौचालय निर्माण गरेको वडा अध्यक्ष भुपराज वोस्तीले बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा ४ वटा, आव २०८०÷०८१ म ८ वटा र चालु आव २०८१÷०८२ मा ४ वटा गरी ३ वर्षको अवधिमा १६ विपन्न परिवारका लागी १६ वटा शौचालय निर्माण गरिएको अध्यक्ष वोस्तीले बताउनुभयो ।
वडा अध्यक्ष वोस्तीले भन्नुभयो, “म निर्वाचित भए पछिको यो ३ वर्षको अवधिमा हामीले आर्थिक अवस्था कमजोर भएका, शौचालय नभएका तथा कच्ची शौचालय भएका १६ परिवारको लागी पक्की शौचालय निर्माण गरेका छौँ ।” यो ३ वर्षको अवधिमा पहिलो आवमा १ लाख, दोस्रो आवमा २ लाख र चालु आवमा १ लाख गरी ४ लाख रुपैँया वडाले विनियोजन गरेर उक्त शौचालय निर्माण गरेको हो ।
वडाले शौचालय निर्माणका लागी ४ सय ईटा, छड, सिमेन्ट, जस्तापाता, पाईप, र शौचालय सिट तथा केहि रकम मिस्त्रि खर्चको लागी गरी एउटा शौचालय निर्माणका लागी २५ हजार खर्च गरेको छ । वडा अध्यक्ष वोस्तीले भन्नुभयो, “शौचालय निर्माणका लागी श्रमदान सम्बन्धीत परिवारका सदस्यले नै गर्नेछन् । शौचालय निर्माणका लागी आवश्यक सामाग्री र मिस्त्रिका लागी थोरै रकम वडाले दिएपनि धेरै श्रमदान परिवारले नै गर्नुभएको छ ।”
४१० घरधुरी रहेको चापाकोट १ मा दलित वस्ती १५ घर मात्रै रहेका छन् । पक्की शौचालय बनाउन नसक्नुभएका विपन्न दलित तथा अन्य समुदायका लागी पनि वडाले हरेक वर्ष बजेट विनियोजन गरेर शौचालय निर्माण गरिदिएको छ । यो अभियानले वातावरणीय स्वच्छता, व्यक्तिगत सरसफाईका साथै वडाका विपन्न परिवारको साथमा वडा छ है भन्ने भरोसा स्थानीयमा जागृत भएको वडा अध्यक्ष वोस्तीले बताउनुभयो ।
यस कार्यका लागी विपन्न परिवारले वडामा शौचालय मागको निवेदन दिन्छन् र जनप्रतिनिधि तथा वडाका कर्मचारीले स्थलगत निरिक्षण गरी वडा समितिको बैठक बसेर शौचालय निर्माणको कार्य अगाडि बढाउने गरिएको वडा सचिव सुरज नेपालीले बताउनुभयो ।