समाचार
वालिङमा नवौँ आरन्त स्मृति कप शुरु
रेडियो आँधीखोला
वालिङ, ८ जेठ ।
वालिङमा नवौँ आरन्त स्मृति कप शुरु भएको छ । वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा बुधबारदेखि नवौँ आरन्त स्मृति कप अण्डर १२ नाईन ए साईड फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्दघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले हरेक वर्ष आरन्तको स्मृतिमा आयोजना गरिएको यो प्रतियोगिताले विद्यालयस्तरमा रहेका खेल क्षेत्रका प्रतिभाहरुलाई उजागर गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
स्थानीय स्तरमा आयोजना गरिने यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहने भन्दै खेल तथा खेलाडिको विकासका लागी खेलकुद परिषद प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद पुर्व सदस्य गिरमान गुरुङले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा उजागर गर्नका लागी यस्ता अतिरिक्त खेलकुद तथा अन्य प्रतियोगिताहरु समय समयमा आयोजन ागर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम क्लबका कार्यबहाक अध्यक्ष सुविन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत अखिल नेपाल फुटबल संघ गण्डकी प्रदेश उपाध्यक्ष ताराबहादुर गुरुङ सम्सेरले गर्नुभएको थियो भने सञ्चालन क्लबका सहसचिव तोलाकान्त बगालेले गर्नुभएको थियो । प्रतियोगिताको पहिलो दिन सगरमाथा बोर्डिङ स्कुल वालिङ र पर्वत ईङग्लिस बोर्डिङ स्कुलबीच भएको खेलमा पर्वतले २–० गोलअन्तरले विजयी प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो खेल भुपूसैनिक आवसिय मावि वालिङ र साईनभिलेज इन्टरनेशनल एकेडेमीबीच भएको खेलमा भुपूसैनिक आवसिय मावि वालिङ विजयी भएको छ । प्रतियोगितामा प्रथम स्थान हात पार्ने विद्यालयले ५० हजार नगद सहित रनिङ सिल्ड प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा स्याङ्जा र पर्वतका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता १० गतेसम्म सञ्चालन हुनेछ ।