समाचार
झण्डै ३० वर्षअघि ट्रयाक खुलेको गल्याङ चापाकोट सडकको कामले गति लिदै
वालिङ, ९ जेठ ।
स्याङ्जाको गल्याङ चापाकोट सडकको कामले गति लिन थालेको छ । झण्डै ३० वर्षअघि ट्रयाक खुलेको ११.८ किलोमिटर गल्याङ चापाकोट सडकको काम शुरुवाती चरणमा ढिला सुस्ती भए पनि पछिल्लो समयमा तीव्रता पाएको हो । अमर कन्स्टकन प्रा.लि., काठमाडौँले भ्याटसहित ४२ करोड ४२ लाख ९४ हजार ६७९ रुपैयाँ १६ पैसामा २०८२ चैत ९ गतेसम्म सम्पन्न गर्ने गरी २०८० चैत २६ सम्झौता गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काम अहिलेसम्म योजना अनुसार नै भइरहेको छ । सडकको भौतिक प्रगति ३० प्रतिशत र वित्तिय प्रगति २३ प्रतिशत भएको छ ।” अमर कन्स्ट्रक्सन प्रा.लि. (निर्माण व्यवसायी) का इन्जिनियर सोनाम शेर्पाले अहिलेसम्म भुक्तानीमा कुनै समस्या नभएको बताउनुभयो । निर्धारित समयमै सक्ने गरी धमाधम काम भइरहेको उहाँले दाबी गर्नुभयो ।
स्थानीय तहले समन्वय नगरिदिदा सुरुवाती चरणमा ढिलो काम भए पनि अहिले करिव ६० जना कामदारले नियमित काम भइरहेको भन्दै शेर्पाले भन्नुभयो, “काममा सबै तिरबाट आवश्यक सहयोग भएको छैन् ।” यति ठूलो योजनाको काम भइरहेको छ तर स्थानीय र जनप्रतिनिधिहरु निर्माणमा केही समन्वय र सहयोग चाहिन्छ भनेर अहिलेसम्म बुझ्न समेत नआएको व्यवसायीको गुनासो छ ।
सडक निर्माण गर्नका लागि नदीबाट गिटी बालुवा निकाल्दा समय समयमा प्रहरीले दुःख दिने गरेको आरोप निर्माण व्यवसायीले लगाएको छ । गल्याङ र चापाकोट नगरपालिकामा राजस्व जम्मा गरेर नदीबाट गिटी वालुवा निकाल्ने काम गरेको निर्माण व्यवसायीले दाबी गरे पनि दुबै पालिकाले राजस्व जम्मा नगरेको बताएका छन् ।
यसअघि भौतिक पूर्वाधर, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक अस्फाल्ड प्रािवधिको प्रयोग गरी कालोपत्रे सम्पन्न भइसकेको छ ।