समाचार
रामपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डललाई स्वागत
वालिङ, १० जेठ ।
पाल्पाको रामपुर उद्योग वाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा आएको टोलाीलाई वालिङ उद्योग वाणिज्य संघले स्वागत गरेको हो । आन्तरिक पर्यटन प्रबद्र्धनको उद्देश्यले लिएर वालिङ आईपुगेको ३५ सदस्यीय प्रतिनिधि मण्डलले वालिङको सिटि हलको समेत अवलोकन गरेको छ ।
कार्यक्रममा दुईसंघबीचका गतिविधि तथा अनुभवहरुको आदान प्रदान गरिएको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले आ–आफ्ना संघका नीति तथा कार्यक्रमहरुका साथै सदस्य ब्यवसायीहरुको समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
वालिङ साथै आम ब्यवसायीहरुका ब्यवसायिक समस्या समाधानका लागि उद्योग वाणिज्य संघले के कस्ता कार्यक्रम गर्न सकिन्छ र संस्थाको गरिमा उँचो राख्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । कार्यक्रम वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । भने संघका सदस्य एवम् महिला उद्यमी विकास समितिका अध्यक्ष मञ्जु के.सीले स्वागत र सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।