समाचार
सामाजिक विकासको सिर्जनात्मक लेखन गृहकार्य, आँधीखोलामा प्रतियोगिता सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १४ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जाका ९ स्थानीय तहमा बालबालिकाहरुका बीचमा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार फेँदिखोला गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएसंगै ९ पालिकामा प्रतियोगिता सम्पन्न भएको हो । सामाजिक विकास कार्यालयले विद्यार्थीहरुलाई विभिन्न ३० विद्यामा विदाको समय सदुपयोगका लागि जिल्लाका सबै पालिकाका विद्याथीहरुलाई गृहकार्य दिएको थियो ।
फेँदिखोला गाउँपालिकामा “मैले चाहेको मेरो समाज” शिर्षकमा प्रतियोगितामा सम्पन्न भएको हो । प्रतियोगितामा मैदान मा.विकी छात्रा जिया गुरुङ प्रथम, जनआदर्श माविकी छात्रा अरुणा पौडेल द्धितीय र जनप्रिय माविकी छात्रा निकिता अधिकारीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट हुनुभएको छ । प्रतियोगितामा सिद्धार्थ माविका छात्र सन्देश नेपालीले सान्तवना स्थान हासिल गर्नुभएको छ । कार्यक्रम गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले विद्यार्थीलाई किताबी ज्ञानसंगै अतिरिक्त क्रियाकलापहरुद्धारा थप सिकाई प्रदान गर्नुपर्ने बताउँदै यो प्रतियोगिताले विद्यार्थीहरुको लेखन विकासमा टेवा पुग्ने बताउनुभयो ।
अब बाँकी रहेका २ पालिकामा प्रतियोगिता गरी यही जेठ २२ गते जिल्लास्तरीय रुपमा प्रतियोगिता गरिने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । ११ पालिकाका उत्कृष्ट ३ भित्र पर्न सफल विद्यार्थीहरु २२ जना विद्यार्थीहरुले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् ।
११ वटा स्थानीय तह रहेको जिल्लामा वालिङ, चापाकोट र भीरकोट नगरपालिका तथा विरुवा, अर्जुनचौपारी, हरिनाश, आँधीखोला, फेँदिखोला र कालीगण्डकी गाउँपालिकामा गरी ९ स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो ।