समाचार
विद्यालयनै बन्द गरेर बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम
वालिङ, १४ जेठ ।
सरकारी विद्यालयमा शैक्षिक गुणस्तर खस्रिहदाँ यहाँको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको छ । पालिकाले शैक्षिक कार्यदलको समन्वयमा शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले एक हप्ते बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको हो । यहाँको पाँच वडामा रहेका छ वटा माध्यमिक विद्यालय, मावि नभएको वडा नं–३ को कार्यालय र गाउँपालिका भवनमा कार्यक्रम गरिएको हो । वडा र माविमा विद्यार्थी तथा अभिवावक सहभागी रहेका थिए भने आज गरिएको गाउँपालिकाको कार्यक्रममा ३१ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यार्थीलाई आफै पढ्नु पर्दछ भन्ने सोचँको बृद्धि गर्न, शिक्षकलाई धर्म र कर्मका आधारमा पढाउनु पर्दछ भन्ने बनाउन उत्प्रेणात्मक कार्यक्रम गरिएको बताउनुभयो । उहाँले छोरा छोरी विद्यालय पठाएपछि केहि गर्नु पर्दैन भन्ने सोचँलाई परिवर्तन गरेर जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
एक हप्ते कार्यक्रममा विद्यार्थी, अभिवावक र शिक्षकले धेरै राम्रा र सकरात्मक कुराहरु सिकेका छन् । एक हजार ४०५ विद्यार्थी, एक हजार ३३५ अभिवावक र ३१२ शिक्षक सहभागी कार्यक्रममा रविकिरणले सहजिकरण गर्नु भएको थियो ।