समाचार
स्याङ्जाका कुँवरले गरे सगरमाथाको सफल आरोहण
आरती कुँवर वालिङ, १७ जेठ । स्याङ्जा चापाकोट-३ बिनदी हाल वालिङ घर भई भारतीय सेनामा कार्यरत सुवेदार कृष्ण बहादुर कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सुवेदार कुँवरले यही जेठ १५ गते सगरमाथा तथा विश्वको चौथो अग्लो लोहोत्से हिमालको सफल आरोहण गर्नुभएको हो । वालिङ–८, विपि चोकका कुँवर टु अब्लीक टु–फाइभ जिआर गोर्खा राइफल भारतमा कार्यरत हुनुहुन्छ । यसअघि समेत उहाँले सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । सुवेदार कुँवर मौसम अनुकुल रहेमा लुक्लाबाट भोली काठमाण्डौ फर्कने तालिका रहेको कुँवर समाज नेपाल स्याङ्जाका जिल्ला सचिव क्याप्टेन दिपक कुँवरले बताउनुभयो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा चौथो अग्लो हिमाल लोहोत्सेको सफल आरोहण गरी किर्तिमान कायम गर्न सफल भएकोमा सिंगो नेपाल तथा कुँवर समाज गौरवान्वित भएको बताउनुभयो । सुवेदार कुँवरलाई उच्च सफलताको कामना सहित जन्मस्थान वालिङमा कुँवर समाजले सम्मान गर्ने तयारी गरिएको समाजका सचिव क्याप्टेन कुँवरले बताउनुभयो ।