समाचार
कार्यसम्पादनमा देशभरी जिल्ला प्रशासन स्याङ्जा पहिलो
वालिङ, १९ जेठ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरीबाट पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरूमा मूल्याङ्कन गर्ने गर्छ ।
यसभन्दा अगाडीका मुल्याङ्कनमा स्याङ्जा २७ औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बतानुभयो । चौथो त्रैमासिकमा पनि स्याङ्जाले यो साख बचाउने विश्वास सहायक प्रजिअ पौडेलको छ ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रोमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल हुनुहुन्थ्यो भने तेस्रो त्रैमासिकमा केही समय नेपाल र केही समय वर्तमान प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल रहनुभएको छ । निवर्तमान प्रजिअ नेपाल स्याङ्जा रहदा प्रशासनिक कार्यमा गरेको कार्यसम्पादनको नागरिकस्तरबाट पनि प्रशंसा गरिएको थियो । नदीजन्य उत्खनन् र विपत व्यवस्थापनमा नेपालले खेलेको भुमिका निकै राम्रो थियो भने बालवालिका क्षेत्रमा पर्ने असरहरुका बारेमा नेपालले पालिकास्तरमा पुगेर प्रशिक्षण समेत गर्नुभएको थियो । जसले गर्दा बच्चाको जन्मदर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरु हल गर्न सफल हुनुभएको थियो ।
उहांको सरुवापछि प्रमुख जिल्ला अधिकारीको रुपमा हाल ईश्वरीप्रसाद अर्याल रहनुभएको छ् ।। कुनैपनि नागरिक प्रशासनबाट काम समेर फर्कदा हाँसेर फर्कनुपर्छ भन्ने मान्यता राखेर काम गर्न प्रजिअ अर्यालले कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । जसले गर्दा प्रशासनमा आउने सेवाग्राहीहरुमा कुनै समस्या नहुने गरेको बताइएको छ ।