समाचार
वालिङमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तालिम सञ्चालन
वालिङ, ३० जेठ ।
स्याङ्जाको वालिङमा पढ्दै कमाउदै अन्तर्गत विद्यार्थीहरुका लागि तालिम सञ्चालन गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा पढ्दै कमाउदै अन्तर्गत फेशन डिजाइन एवम् ड्रेस मेकरसम्बन्धी एक महिने तालिम सञ्चालन गरिएको हो । वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पढ्दै कमाउदै अन्तर्गत तालिम सञ्चालनमा ल्याइएको हो । नगरपालिकाको सहयोगमा दलित समुदायको परम्परागत शिप विकास संस्था वालिङले तालिमको आयोजना गरेको हो ।
तालिमको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह्रेले उद्यमी उत्पादनसँगै विद्यार्थीहरुले पढ्दै कमाउदै गर्न सकून भन्ने उद्देश्यले सीप विकास सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । निर्धारित समयसम्म जिज्ञासु र अनुशासित भएर शिप विकाससम्बन्धी तालिम लिन उहाँले आग्रह गर्नुभयो । अहिलेको एक महिने सिकाईले प्रयाप्त भएन र थप सिक्न पाए हुन्थ्यो भन्ने लागेमा समय थप गर्नसकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
तालिम लिएपछि कसरी व्यवसायी बन्ने होला भन्ने लाग्यो भने पेशागतरुपमा अगाडि बढाउन नगरपालिकाले सहयोग गर्ने छ । उहाँले भन्नुभयो, “ तपाईंहरुले तालिम लिनुस, दक्ष बन्नुस, पेशागतरुपमा अगाडि बढ्न नगरपालिकाले सहयोग गर्छ । नगरपालिकामा इविक भन्ने संस्था छ, त्यस मार्फत पेशागतरुपमा अगाडि बढाउनका लागि रु. १० लाखसम्म सहयोग गर्दै आएका छौं । इविक कार्यक्रम सञ्चालन भैरहेको हुन्छ, त्यसमा प्रस्तावना पेश गर्नेहरुलाई बढिमा रु.१० लाखसम्म सहयोग गरेको दृष्टान्त छ । यसरी हामीले उद्यमीमा जोड्न सक्छौं ।”
यसैगरी अब आउने बजेटबाट पढ्दै कमाउदै गर्ने विद्यार्थीहरुलाई मध्य नजर गरेर तलव पाउने व्यवस्था गर्ने तयारीमा लागेको छ । एक घण्टा काम गरेर तलव पाउने व्यवस्थाको मानसिकता बनाएकोसमेत उहाँले जानकारी गराउनुभयो । योसँगै विद्यार्थीहरु अब पढ्दै कमाउदै गरेर आफ्नो लागि आफै गर्नसक्ने बनाउन नगरपालिकाले प्राथमिकता दिएको नगर उप प्रमुख गैह्रेको भनाई छ ।
नगरपालिकाले पहिलो कार्यक्रमको थालनी क्याम्पसबाट गरेको छ । यो पहिलो तालिममा नव प्रवर्तककोरुपमा २० जनाले भाग लिएका छन् । नगरपालिकामा १ सय १२ जना उद्यमीहरुछन्, त्यसमा थप उद्यमीहरु सिर्जना गर्न सकियोस भनेर यो तालिम सञ्चालनमा ल्याइएको उप प्रमुख गैह्रेले व्यक्त गर्नुभयो ।