समाचार
साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा लटरम्मै
वालिङ, ३१ जेठ ।
साउदी अरबमा फल्ने खजुर स्याङ्जामा फलेको छ । बालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका– ११ जिमुवामा लटरम्मै फलेको छ । रोजगारीका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले घर आउँदा खजुरको बिउ लिएर आउनुभएको थियो । बालुवासहित मलमाटो मिलाएर बिउ जमाएको र जमाएको बिउमध्ये दुईवटा बिउ बढेर उत्पादन दिने भएको हो । गतवर्ष अलिअलि फलेको खजुर यसपटक लटरम्मै फलेको छ ।
मरुभूमिभन्दा केही बाहिर खजुर फलेको देखेपछि आफ्नो जन्मभूमिमा पनि हुन्छ होला भन्ने लागेर केही खजुरका बीउ लिएर आएको उहाँले बताउनुभयो । खजुरका लागि घाम पर्ने जग्गा चाहिन्छ । यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ । विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी चाहिँदैन । ढकालले पनि जिमुवामा खजुर लगाउँदा बालुवासहित मलमाटो मिलाएर रोपेको बताउनुभयो ।
’रोपेको ७ वर्षमा फल दिएको छ । गतवर्ष अलिअलि फलेको थिया े। अहिले भने असाध्यै राम्रो फलेको छ । अब खजुर खेती विस्तार गर्नेछु,’उहाँले भन्नुभयो । उहाँले आँप, लिचि, कटहरलगायत अन्न तथा तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । जिमुवामा खजुर फलेपछि अन्य किसान पनि हर्षित बनेका छन् । कृषि वीउ उत्पादन फर्मका सञ्चालक रुमलाल कँडेलले यसपटकको फललाई राम्रोसँग पाक्न दिएर बिउ उत्पादन गर्नेगरी छलफल भइरहेको बताउनुभयो ।