समाचार
सम्मान समर्पण, बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ३१ जेठ ।
वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान समर्पण गरिएको छ । वैकल्पिक बाटो पृथक पाइलाले एक कार्यक्रमकाबीच साहित्यकार देवीप्रसाद वनवासीलाई सम्मान समर्पण गरेको हो । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३३औं पाइलाको रूपमा सम्मान समर्पण, युवा साहित्यकारद्वय मिलन समीर र शम्भु अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न शनिबार वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन, कमलादी,काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता सम्मान समर्पण गरिएको थियोे । यस्तै वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीर नेपाली लेखक संघको गत चैत १६ र १७ गते लुम्बिनीमा सम्पन्न भएको आठौं राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सचिवमा र संस्थापक सहयात्री शम्भु अर्याल प्रगतिशील लेखक संघको गत चैतमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट केन्द्रिय पार्षद सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन समेत गरिएको हो ।
कार्यक्रममा वाचन गरिएका रचनाहरुमाथि केन्द्रित रहेर साहित्यकार चण्डिकाप्रसाद भट्टराईले समीक्षात्मक टिप्पणीे गर्नुभएको थियोे । कार्यक्रममा स्याङ्जाली कविहरु शम्भु अर्याल, दिलीप तिवारी, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, सरस्वती अर्याल, खगेन्द्रजंग थापा, प्रेमप्रसाद सुवेदी, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी., ध्रुवप्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, भविश्वर पङ्गेनी, पुजा रेग्मी, शान्ता थापा, चण्डिकाप्रसाद भट्टराई, मिलन समीर, देवीप्रसाद वनवासीलगायतले आ—आफ्ना रचनाहरु वाचन गर्नुभएकोे थियोे ।
कार्यक्रममा वाचन गरिएका रचनाहरुमध्ये उत्कृष्ट रचनाको रूपमा कवि ढालबहादुर के.सी.ले वाचन गर्नुभएको देशदर्द शीर्षकको कवितालाई पुरस्कृत गरिएको थियोे ।