अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

क्षयरोग खोज पड्ताल अभियानमा १४ जना क्षयरोगका बिरामी फेला

news

 
रेडियो आँधीखोला
वालिङ,  ५ असार । 
स्याङ्जाको वालिङ वडा नं ५, ६ र ७ मा गरिएको क्षयरोग खोज पड्ताल अभियानमा १४ जना क्षयरोगका बिरामी फेला परेका छन् । वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना, जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सोमबार क्षयरोग खोज पड्ताल अभियान शिविर गरिएको थियो । शिविरमा आएका मध्ये १४ जनामा क्षयरोग पहिचान भएको वालिङ नगरपालिकाका क्षयरोग मुक्त अभियानका संयोजक मोनिका कोइरालाले जानकारी दिनुभयो । ८ जना पुरुष र ५ जना महिला गरी १४ जनामा क्षयरोग देखिएको र रोग पहिचान भएका बिरामीहरुलाई निःशुल्क औषधी सेवनको लागि स्वास्थ्य संस्थामा पठाइएको वडा नं ५ का वडा अध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । 
शिविरमा २२५ जना पुरुष र ३५५ जना महिला गरी ५८० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । छातीको एक्सरे गर्दा २२ जना पुरुष र २६ जना महिलामा क्षयरोग हुनसक्ने आशंकामा खकारको नमुना परीक्षण गर्दा १४ जनामा क्षयरोग पहिचान भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे विधिबाट स्वास्थ्य परीक्षणमा गरिएको थियो । 
क्षयरोग मुक्त अभियान चलाइरहेको नगरपालिकाले गाउँ तहमा नै पुगेर खोजपड्ताल अभियान चलाउँदै आएको छ । वालिङमा चालु आर्थिक वर्षमा ८५ जना नयाँ क्षयरोगका बिरामीको पहिचान भएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । प्रति लाख जनसङ्ख्यामा २४५ जना बिरामी पहिचान गर्नुपर्ने नीति अनुसार वालिङमा कम्तीमा ११८ जना बिरामी पहिचान गर्नुपर्ने अवस्था रहेको पाण्डेले बताउनुभयो । खोजपड्ताल बढाउँदै लैजाँदा बिरामीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । 
यसैगरी, स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा चलाउँदै आएका छन् । जिल्लाका वालिङसहित भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान सञ्चालन भएको हो । क्षयरोगको उच्च जोखिममा रहेका पालिका र जनसङ्ख्यालाई आधार बनाएर अभियान सञ्चालन गरिएको हो । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष दश लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिनेछ । सन् २०५० सम्ममा यो अवस्थामा पु¥याउने सरकारको योजना छ ।
क्षयरोग निवारणका लागि वालिङमा रोग पहिचान, समुदायमा जोखिम समूह पहिचान तथा स्क्रिनिङ्, रोग निदान, रोग रोकथाम र उपचार जस्ता क्रियाकलाप भइरहेको वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...