समाचार
पूर्व राष्ट्रसेवक संगठनको जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र
रेडियो आँधीखोला
वालिङ, ९ असार ।
पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपाल स्याङ्जाले महंगी भक्ता सम्बोधन नगरिएको विषयमा नेपाल सरकारको ध्यानाकषर्ण गराउँदै आज जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको छ । संगठनले लामो समयदेखि अवकाश प्राप्त राष्ट्रसेवकहरुको महंगी भत्ता वृद्धि नगरिएको र यसले उनीहरुको जीवनयापनमा कठिनाई थपेको भन्दै सरकारलाई तत्काल सम्बोधनका लागि आग्रह गरेको हो ।
संगठनले आइतबार पूर्व राष्ट्रसेवक संगठन, राष्ट्रिय समन्वय परिषद् नेपाल गण्डकी प्रदेश पोखरा तथा पूर्व राष्ट्रसेवक संगठन केन्द्रिय कार्यालय भृकुटीमण्डप काण्ठमाण्डौलाई बोधार्थ गरीएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यााललाई बुझाएको हो । संगठनले नेपाल सरकारले हालै मात्र २०८२÷०८३को लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा हाल बहालमा रहेका राष्ट्र सेवक कर्मचारीहरुलाई महंगी भत्ता वापतको केही रकम सुवीधा दिने गरी सम्बोधन गरिएको तर सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको हकमा कुनै सुविधा प्रदान गर्नेतर्फ कुनै सम्बोधन नभएको भन्दै आपत्ति जनाएको छ ।
सेवा निवृत्त राष्ट्र सेवकले आफ्नो उर्जाशिल उमेर यसै राष्ट्र सेवामा समर्पित गरी आफ्नो जीवनको उत्तारार्धमा केवल पेन्सनको भरमा आफँु र आफ्ना सन्तानको पालन पोषण गर्नुपरेको सर्वविदितै छ । राष्ट्र सेवक कर्मचारीहरुले पनि बजारको महँगी भोग्नुपरेको र राज्यले चाहेमा हामीलाई कुनै दिन राष्ट्र सेवाको लागि जुन सुकै समयमा प्रयोग गर्न सक्ने र हामी पनि पुर्ण राष्ट्रका लागि जुनसुकै बखत आफ्नो सेवा निवृत्त जीवनमा पनि प्रयोग हुन समर्पित हुने तथ्य समेत यथार्थ रहेको छ, ज्ञापनपत्रमा उल्लेख छ ।
कर्मचारीको ३÷३ वर्षमा तलब वृद्धि गर्नुपर्ने प्रचलित कानुनी व्यवस्था हुँदा हुदै पनि त्यो कुरालाई वास्तै नगरीएको भन्दै बहाल वाला राष्ट्र सेवक कर्मचारीहरुलाई सरह तलब तथा महंगी भत्ता यसै आर्थिक वर्षबाट लागु हुने गरी सेवा सुविधा उपलब्ध गराउन संगठनले माग गरेको छ ।