अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

वर्षा लागेसँगै कालीगण्डकीमा जल यातायात (स्टिमर) सेवा बन्द

 
रेडियो आँधीखोला
वालिङ, १० असार । 
कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै सञ्चालन हुँदै आएको जल यातायात (स्टिमर) सेवा बन्द गरिएको छ ।
 
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी आँधीमुहानस्थित कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाको जलाशयमा सञ्चालन हुँदै आएको जल यातायात सेवा नदीमा पानी बहाव उच्च भएसँगै बन्द भएको हो ।
 
कालीगण्डकी नदीमा पानीको वहाव उच्च भएपछि जल विद्युत परियोजनाले बाँधका ढोकाहरु खोलिदिने कारणले जलाशयमा सञ्चालन हुँदै आएको जल यातायात सुरक्षाका दृष्टिले बन्द गर्नुपरेको शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले बताउनुभयो ।
 
“वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढेको छ, पानीको सतह बढ्नासाथै बाँधका ढोकाहरु खोलिन्छन्” उहाँले भन्नुभयो, “वर्षायाममा नदीको वहाव उच्च हुने र ढोका खोलिने भएकाले जल यातायात सञ्चालन गर्न सकिंदैन सुरक्षाका दृष्टिले सेवा बन्द गरेका हौं ।”
 
जलाशयमा सञ्चालन हुँदै आएका स्टिमर सेवा बन्द गरेर अहिले नदी किनारमै सुरक्षित स्थानमा राख्ने गरिएको छ ।
 
वि.सं २०६० सालदेखि कालीगण्डकीको जलाशयमा स्टिमर सेवा सञ्चालनमा रहेको छ । साना ठूला गरी १२ वटा स्टिमरले सेवा दिंदै आएकामा वि.सं २०७८ सालमा ८ वटा स्टिमरमा पहिरोले क्षति पु¥याएपछि हाल ४ वटा स्टिमरबाट यात्रुहरुलाई सेवा दिंदै आएको छ ।
 
जलाशयमा सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको संगमस्थल सेतीवेणीस्थित विशाल शीला दर्शनकालागि जान आउन निक्कै सहज हुने गरेको छ । मिर्मीस्थित आँधीमुहानबाट सेतीवेणी शीला दर्शकालागि झण्डै ३० मिनेट समय लाग्ने गर्छ । सुरुका दिनमा शीलासम्म नै सेवा दिएको भएपनि हाल नदीमा थुप्रिएको गेग्रान, ढुंगाकाकारण दूरी छोट्याउनुपरेको उहाँले बताउनुभयो ।
 
मिर्मी आँधीमुहानमा कालीगण्डकी नदी थुनिंदा बनेको जलाशयमा झण्डै ७ किलोमिटरको दूरी पार गरेपछि सेतीवेणी शीला पुग्न सकिन्छ । यहाँ सञ्चालनमा रहेका ठूलो ईञ्जिन जडान स्टिमरमा १३० जना र सानो ईञ्जिन जडान स्टिमरमा ८० जनासम्मले एकैपटकमा यात्रा गर्न सकिन्छ ।
 
“कुनैबेला स्याङ्जा, पर्वत, गुल्मी र बाग्लुङका नागरिकहरुको आवतजावत तथा सामन ढुवानीको भरपर्दो माध्यम स्टिमर सेवा थियो” उहाँले भन्नुभयो, “पछिल्लो समय गुल्मी जिल्ला हुँदै कालीगण्डकीको तिरैतिर कालीगण्डकी कोरिडोर र अर्कोतर्फ कालीगण्डकीको तिरैतिर स्याङ्जा, पर्वत हुँदै कालीगण्डकी लोकमार्ग निर्माण भएपछि स्टिमर सेवा ओझेलमा परेको छ ।”
 
पछिल्ला केही वर्षहरुमा जलयात्रा गर्दै शीलाको दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको सेवामामात्रै सेवा खुम्चिएको छ । दुबैतर्फबाट खुलेका सडकबाट पनि सहजै शीला दर्शन गर्न जान सकिने अवस्था रहेको छ । पछिल्लो समय विशेष गरी मेला पर्वहरुमा स्टिमर सेवाकालागि भीड लाग्ने गरेको छ । वर्षाकाकारण बन्द भएको स्टिमर सेवा नदीमा पानीको वहाव घट्दै गएपछि कात्तिकको पहिलो साताबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...