अहिले तरंगमा

केहि छिनमा

समाचार

अन्तर्राष्ट्रिय एकल महिला दिवस ः सम्मान, सुरक्षा र समतामुलक समाजका लागि जोड

news

 
वालिङ, १२ असार । 
अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र आँधीखोला गाउँपालिका वडा नं. ६ को समन्वयमा एकल महिलाहरुको लागि नेतृत्व विकासको लागि अभिमुखिकरण कार्यक्रम, अन्तरक्रिया तथा सिर्जना मार्फत् एकल महिलाका आवाजको प्रस्तुतीकरण र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्नुहुँदै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आमाको महिमाका बारेमा जानकारी दिदै सामाजिक न्याय र समानाताको लागि एकल महिलाहरुको सम्मान र अधिकारमा सबै जना लाग्नुपर्ने बताउनुभयो । उहाँले एकल महिलाको सम्मान र मर्यादामा ध्यान दिनुपर्ने बताउदै सामाजिक विभेद अन्त्य गर्दै न्यायपूर्ण समाज स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
यस्तै गाउँपालिकाका उपाध्यक्ष सिता थापाले एकल महिलालाई सम्मानित र मयार्दित जीवन बिताउन तीनै तहका सरकारहरुले पहल गरेको र आगामी दिनमा एकल महिला कोष मार्फत्  एकल महिलालाई सहायता, सहयोग  र सशक्तिकरणमा जोड दिइने बताउनुभयो ।
आँधीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नविन ढकालले एकल महिलाहरुको साहारा सँगै अभिभाभकत्व लिन सबै समुदाय, संघ संस्था र सरकारले अग्रसरता लिनुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले एकल महिलाका अधिकार र कानूनी विषयमा सहजिकरण गर्दै एकल महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व भएको हुँदा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ एकल महिलाहरुको मर्यादाको सम्मान गर्नु अपरिहार्य रहेको बताउनुभयो । 
कार्यक्रममा महिला सशक्तिकरण र महिला हिंसाको अन्त्य साथै एकल महिलाका सवालमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्याङ्जाका प्रमुख गीता न्यौपानेले सहजिकरण गर्नुभएको थियो । 
कार्यक्रममा बालबालिकाहरु  प्रसंशा ढकाल, रेखा वि.क., प्रकृति ढकाल, लक्ष्मी ढकाल, सदिक्षा जि.टी. र सिम्रन ढकालले आ–आफ्ना साहित्य र सिर्जना मार्फत् एकल महिलाहरुका अधिकार र आवाजको प्रस्तुती राखेका थिए साथै उनीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आँधीखोला गाउँपालिकाका अधिकृत कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नु भएको थियो । 
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो ।
लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध बिच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनी उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न समस्यामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।
नेपालको जनगणना २०७८ अनुसार नेपालमा एकल महिलाको संख्या करिब २० लाख  रहेको  छ । मानव अधिकारको सम्मान, सुरक्षा र समतामुलक समाजका लागि एकल महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाले जोड दिंदै आएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...