समाचार
स्याङ्जा स्रष्टा सदनद्वारा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, १३ असार ।
स्याङ्जा स्रष्टा सदनले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । गायक गायिका, लेखक एवम् कवि कलाकर्मीहरुको छाता सङ्गठन स्याङ्जा स्रष्टा सदनले आज विहिबार स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भूमिका विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाम पुतलीबजारमा गरेको हो ।
कार्यक्रमको समुद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले लोक संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको बताउनुभयो । उहाँले लोक संस्कृतिलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि हामी सबै आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । आफ्नो कला र संस्कृतिलाई देश विदेशसम्म फैलाएर स्याङ्जेली कलाकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको नगरप्रमुख रेग्मीले उल्लेख गर्नुभयो । गाउनेले गाएर, लेख्ने क्षमता भएकाले लेखेर र अभिनय क्षमता भएकाले अभिनय कलाको माध्यमबाट लोक कला तथा संस्कृतिलाई बचाउँदै लगेको उहाँको भनाई थियो । लोक संस्कृति संरक्षणका लागि पुतलीबजार नगरपालिकाको साथ र सहयोग सधैं रहने विश्वास नगरप्रमुख रेग्मीले व्यक्त गर्नुभयो ।
प्रशिक्षण कार्यक्रमको सहजिकरण लोक संस्कृसतविद डा.तुलसी प्रभास खनालले गर्नुभएको थियो । कार्यक्रममा कला र संस्कृति के हो, कलाकारिता र पारिवारिक सम्वन्ध, उत्प्रेरणा, सकारात्मक सोंच एवम् जीवनको महत्वलगायतका शिर्षकमा डा. प्रभासले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवम स्रष्टा सदनका संरक्षक पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका महासचिव एवम् स्रष्टा सदनका उपाध्यक्ष शिव हमाल, प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्की, पछिल्लो समयकी चर्चित मोडल अस्मिता रनपाललगायतको प्रस्तुतिले कार्यक्रमलाई सङ्गीतमय गराएको थियो ।
पुतलीबजार नगरपालिकाको विशेष सहयोगमा स्रष्टा सदनले कार्यक्रमको आयोजना गरेको हो । यसैगरी आगामी दिनहरुमा जिल्लाका ११ वटै पालिकामा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।