समाचार
स्याङ्जामा ३० प्रतिशत धान रोपाइँं
वालिङ, १७ असार ।
मध्यअसार सकिँदा स्याङ्जामा करिब ३० प्रतिशत धान रोपाइँ सकिएको अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार धान खेती गरिने क्षेत्रफलको करिब ३० प्रतिशत रोपाइँ सकिएको हो। सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लाका उत्तरतर्फ छिटो रोपाइँ गर्ने र दक्षिण भूभागमा अलि ढिलो रोपाइँ हुने गर्दछ। कतिपय खेतमा मकै भएकाले पनि रोपाइँ ढिलाइ भएको हो।
यसपटक छिटो वर्षा भएका कारण टारी खेतमा पनि रोपाइँ पूरा भएको छ। यहाँ रामधान, सावित्री, जेठोबुडो, सुनौलो सुगन्धा र स्थानीय धान रोप्ने गरिएको छ। जिल्लाभर १४ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान र ७ हजार हेक्टरमा हिउँदे धान रोप्ने गरिन्छ। गतवर्ष ५७ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष स्याङ्जाम ९९ प्रतिशत धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।