समाचार
आँधीखोला बोर्डिङमा “पढ्दै कमाउँदै अभियान”
वालिङ, १८ असार ।
स्याङ्जाको आँधीखोला गाउँपालिका –५ स्थित आँधीखोला इङ्लिस बोर्डिङ स्कुलमा “सिक्दै सिकाउँदै अगाडि बढ्ने यात्राको अर्को पाइला” भन्ने मूल सारलाई आत्मसाथ गर्दै “पढ्दै कमाउँदै अभियान” सुरु भएको छ । उद्यमशीलता अभियानअन्तर्गत “सिक्दै सिकाउँदै अगाडि बढ्ने यात्रा” अन्तर्गत आँधीखोला इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूसँग “कर्म शिक्षाः विद्यार्थीसङ्ग पढ्दै कमाउँदै” अभियानलाई अगाडि बढाईएको हो ।
उक्त विद्यालयका विद्यार्थीलाई नर्सरि ब्याड निर्माण, वेस्ट टु बेस्ट, झोलमल बनाउने तरीका साथै सयपत्री खेती गरेर कमाउने बाटो सिर्जना गर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरुले वटा पोलिब्यागमा घिउ सिमि र एक सयभन्दा बढि सयपत्री फुलको बिउ जमाएका छन् ।
विद्यालयले कर्म शिक्षालाई महत्व दिइरहेको र विद्यार्थीहरुलाई कृषि खेतीसम्बन्धी ज्ञान दिएर विद्यार्थीहरुले आफ्नै मेहनतले तरकारी खेती गरी विद्यालयमा नै तरकारी तथा सयपत्री फुल आफैं उत्पादन गर्न सक्ने बनाउने विद्यालयको तयारी रहेको विद्यालयकी प्रधानाध्यापक स्मृति काफ्लेले बताउनुभयो । उहाँले पढाई संगसंगै दैनिक जीवनमा प्रयोग हुने खालका सिप सिकाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउनको लागि यो अभियान चलाएको बताउनुभयो ।