समाचार
भीरकोटमा आइटि शिक्षकलाई तालिम सुरु
वालिङ, २१ असार ।
स्याङ्जाको भीरकोट नगरपालिकाले सूचना अधिकारी तथा आइटि शिक्षकहरुका लागि तालिम सुरु गरेको छ । विहीबार नगरपालिकाको आयोजनामा आधारभूत तथा माध्यामिक तहका विद्यालयका सूचना अधिकारी एवंम आइटी स्रोत शिक्षकको लागि ५ दिने आइसीटि सम्बन्धी क्षमता विकास तालिम शुरु भएको हो ।
कार्यक्रममा भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले शिक्षकको क्षमता विकासका लागि यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुको क्षमता विकास गरी विद्यार्थीको गुणस्तर बृद्धि गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले तालिम पछि भीरकोटका विद्यालयको नतिजा अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा शिक्षक तालिम केन्द्र, तनहुँका रोष्टर शिक्षक श्रीकृष्ण आचार्य र नगरपालिकाका प्रशिक्षकहरुद्वारा एआईको प्रयोग तथा अन्य सफ्टवयरको प्रयोग सम्बन्धी प्रशिक्षण दिईने छ । उक्त तालीमले शिक्षकहरुलाई विद्यालयमा शिक्षण सिकाई तथा अन्य प्रशासनिक कार्यमा समेत सहयोगी भूमिका खेल्ने नगरपालिकाले बताएको छ ।