समाचार
गल्याङका छात्रालाई आत्मरक्षा तथा नेतृत्व विकास तालीम प्रदान
रेडियो आँधीखोला
वालिङ, २१ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकामा आत्मरक्षा सम्बन्धी तालीम बिहीबार सम्पन्न भएको छ । अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा तथा गल्याङ नगरपालिकाको सहकार्यमा छात्राहरुलाई १ दिने आत्मरक्षा तथा नेतृत्व विकास तालीम प्रदान गरिएको हो ।
तालीम उद्घाटनको अवसरमा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले रचनात्मक एवम् सिर्जनात्मक माध्यमबाट समाजलाई सकारात्मक बाटोतर्फ लैजाने बताउदै छात्राहरु मार्फत नयाँ नेतृत्वको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो । साथै उहाँले आत्मरक्षाका तालीम मार्फत नेपाली समाजमा घट्दै गएको घटनाहरुको प्रतिरक्षा गर्न तथा समाजलाई महिलाहरु मार्फत नेतृत्व विकास र आत्मबल बढाउन यस प्रकारका कार्यक्रम महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै नगर उपप्रमुख हेमा न्यौपाने तिमील्सिनाले छात्राहरुको आत्मरक्षा तथा नेतृत्व विकास तालीमलाई गल्याङका सबै विद्यालयमा लैजाने कुरामा जोड दिनुभयो । छात्राहरुले यस प्रकारको तालीम लिएपश्चात जीवनमा आईपरेका नकारात्मक घटनाहरुको प्रतिकार गर्न सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा अकला आवाज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक तथा अध्यक्ष प्रकाश डुम्रे, गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमलाल भण्डारी, प्रशिक्षक छवि गाहा, आयुष्मा काफ्ले, बिना रेग्मी लगायतले धारणासहित कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रम अकला आवाजका प्रबन्धक ध्रुव गौडेलको अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा गल्याङका २१ वटा विद्यालयका ३५ छात्राहरुको सहभागिता रहेको थियो ।