समाचार
वालिङबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु
रेडियो आँधीखोला
वालिङ, १६ साउन ।
स्याङ्जाको इलाका प्रशासन कार्यालय वालिङमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । इलाका प्रशासन कार्यालय मार्फत खिचिएका राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको हो । इलाका प्रशासन कार्यालय वालिङ्ले चापाकोट, गल्याङ र वालिङ नगरपालिका सबै, हरिनासका ३, बिरुवाका ३, भीरकोटका ३ वडाको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत प्रशासनीक सेवा गर्दै आएको छ । ईलाका प्रशासन कार्यालयमा आएर फोटो खिचाएकाको मात्रै कार्ड आएको र वडा वडामा घुम्ती शिविर मार्फत फोटो खिचाएकाहरुको हकमा भने कार्ड आएको छैन् ।
२०७८ सालदेखी २०८१ पुस सम्म फोटो खिचाएका ३९ हजारको कार्ड आएको हो । यही असार २२ गतेदेखि कार्ड वितरणको लागी मोबाईलको सिम कार्डमा म्यासेज पठाउन शुरु गरिएको छ । हालसम्म ८ हजार जनालाई म्यासेज पठाईएको छ । परिचयपत्र वितरण गर्ने र फोटो खिच्ने एउटै स्टेशन भएकाले सबैलाई एकैसाथ म्यासेज पठाउन नसकिएको कार्यालयका सूचना अधिकारी बुद्धिराम बुढाले बताउनुभयो । मोबाईलमा म्यासेज आएपछि मात्रै परिचयपत्र कार्ड लिन सेवाग्राहीहरु जान सक्नेछन् । आफ्नो मोबाईलमा म्यासेज आए नआएको चेक गरेर म्यासेज आएकाहरुले मात्र आफ्नो कार्ड लिन कार्यालय जान अनुरोध गरिएको छ । अहिलेसम्म ५० जनाले आफ्नो परिचय पत्र बुझेका छन् ।
अहिलेसम्म इलाका प्रशासन कार्यालय वालिङमा ७० हजार बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फोटो खिचाइ सकेका छन् । पहिलो चरणको ३९ हजार वितरण सकिएपछि अरु राष्ट्रिय परिचयपत्र पनि बिस्तारै आउने भएकाले सबैले पाउने प्रशासनले जनाएको छ । पछिल्लो समय राष्ट्रिय परिचयपत्रलाई सरकारी कामकाजका लागि अनिवार्य गर्न थालेको छ । राष्ट्रिय परिचयपत्रको लागि आवश्यक कागतजात पुरा गरेर मात्रै फोटो खिच्न आउन प्रशासनले आग्रह गरेको छ ।
नागरिकता सिफारीस गर्ने बेलामै वडा कार्यालयमा नै परामर्श गरेर मात्रै इलाका प्रशासनमा आउदा नागरिकले दुख नपाइने प्रशासनले जनाएको छ । सम्वन्धित् वडा कार्यालयले पनि सेवाग्राहीलाई सरकारी कागजातका बिषयमा सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्र यो भन्दा अगाडी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वितरण गर्दै आएको थियो ।