समाचार
छाङ्छाङ्दी मन्दिरमा साउने सोमबारबाट मात्रै ७ लाख ३६ हजार ५२८ भेटि संकलन
रेडियो आँधीखोला
वालिङ, २७ साउन ।
स्याङ्जाको भीरकोट ४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल छाङछाङ्दी मन्दिरमा साउने सोमबारबाट ७ लाख ३६ हजार ५२८ रुपैँया भेटि संकलन भएको छ । ४ सोमबार परेको यसपालीको साउन महिनामा पहिलो सोमबार २ लाख ४५ हजार ९ सय ३१ रुपैयाँ, दोस्रो सोमबार १ लाख ५ हजार ८ सय ८३ रुपैयाँ, तेस्रो सोमबार ९० हजार ४८० रुपैयाँ र चौँथो सोमबार आज २ लाख ९४ हजार २३४ रुपैँया भेटि संकलन भएको हो ।
यी चार सोमबार मध्ये अन्तिम सोमबार झण्डै ३ लाख भेटि संकलन भएको हो । अन्तिम सोमबार भएकाले भक्तजनहरु विहान साढे ३ बजेदेखि नै मन्दिर दर्शन तथा पुजाका लागी पुगेका थिए । अन्तिम सोमबार १०८ शिवलिंग र १०८ गौमुख धाराबाट ६० हजार ३३०, सहयोग रसिदबाट ६६ हजार ८०४, आजिवन सदस्यबाट ७ हजार ५ सय, दु्रतमार्गबाट १३ हजार ७००, स्टल विक्रिबाट २० हजार ५ सय, मुल मन्दिर तथा भजन मण्डलीबाट ७९ हजार ४३०, दानपेटिकाबाट ४५ हजार ९७० गरी कुल २ लाख ९४ हजार २३४ रुपैँया अन्तिम सोमबार आज संकलन मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो ।
साउनको चौँथो तथा अन्तिम सोमबार उल्लेख्य भक्तजनले मन्दिर दर्शन तथा पुजा आजा गरेका छन् । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिने भएकाले साउन महिनाको सोमबार तथा साउन महिनाभर नै स्याङ्जा सहित अन्य जिल्लाबाट समेत मन्दिर दर्शनका लागि आउने गर्दछन् । अन्तिम सोमबार राधा माधव समिति स्याङ्जा अन्र्तगतको डिभाईन युथ क्लबले मन्दिर सरसफाई गरेका छन् । भक्तजनहरुले चढाएको फुल, बेलपत्र, अगरबत्तिहरु, प्लाष्टिकहरुलगायतका मन्दिर परिसर सरसफाई गरेका हुन् ।
यसैबीच छाङ्छाङ्दी शिव मन्दिरमा दैनिक सन्ध्याकालिन महाआरति भइरहेको छ । मन्दिरमा अरुबेला सामान्य प्रकारको आरतिहरु गरिने भएतापनि पवित्र महिनाको रुपमा रहेको साउनमा दैनिक महाआरति गरिदै आइएको र महिनाभर नै महाआरति गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो । श्रद्धालु भक्तजनहरुले आफ्ना दिवंगत पितृको स्मृति, शुभकार्य, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा महाआरति गर्न चाहनेका लागी मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थापन गर्दै आएको छ ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । यहाँ विषेशगरी महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गर्दछन् ।