समाचार
महायज्ञ तथा धार्मिक महोत्सवले समाजलाई सकरात्मक बनाउँछ ः सभापति अर्याल
वालिङ, २ भदौ ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बेला—बेलामा आयोजना हुने महायज्ञ तथा धार्मिक महोत्सवले समाजलाई सकरात्मक बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ १३ पाठेखोलामा आयोजना गरिएको एक महिने शिव महापुराण कथा तथा ताण्डुलाचल ज्ञान महायज्ञको समापन गर्दै सभापति अर्यालले धार्मिक कार्यले मानिसहरुलाई नकारात्मक भन्दा सकारात्मक सन्देश दिने बताउनुभएको हो । पछिल्लो समय समाज नकारात्मक बनिरहेका बेला धार्मिक कार्यले सकारात्मकतर्फ हिडाउन सघाउने सभापति अर्यालको भनाई थियो ।
संविधानमा धर्मनिरपेक्ष देश लेखिएको भएपनि हिन्दुत्व बढी भएको हाम्रो मुलुकमा धार्मिक कार्यक्रमहरुकै कारण हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाउन सफलता मिलेको सभापति अर्यालले बताउनुभयो । मानिसहरुलाई जिवन, जगत, जिम्मेवारी, कर्तव्य र धर्मका बारेमा महायज्ञ मार्फत ज्ञान छरिदै आइएको छ सभापति अर्यालले भन्नुभयो,‘असल र सकारात्मक नागरिक बनाउन यस्ता कार्यहरुले सघाउ पुर्याएको पाइन्छ ।’ जसले गर्दा धर्म विरोधीहरुले यस्ता कार्यहरुलाई विथोल्न धेरै पप्रोगाण्डा छरिरहेका हुन्छन्, हामी सचेत हुनुपर्छ उहाँले भन्नुभयो ।
ठाउँको विकास र आवश्यकतालाई समेत महायज्ञको माध्यमबाट परिपुर्ति गर्ने गरिएको पनि सभापति अर्यालले बताउनुभयो । पाठेखोलामा निर्माण गरिएको शिव पार्वती त्रिवेणी धामलाई पनि यो महायज्ञले महत्वपुर्ण भुमिका खेलेको विश्वास व्यक्त गर्नुभयोे । वालिङको अत्यन्तै मनोरम ठाँउमा निर्माण गरिएको यो धामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आवश्यक रहेको सभापति अर्यालले बताउनुभयो । यसका लागि तिनैतहका सरकारहरुले सहयोगी भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
स्याङ्जा क्षेत्र नं. १ प्रदेश (क) का निर्वाचित सांसद समेत रहनुभएका अर्यालले यो क्षेत्रको विकासका लागि आफु सदैव साथमा रहेको बताउनुभयो । सिमित साधनश्रोतबाट नेपालका तिनैतहका सरकारहरुले सेवा दिइरहनु परेको अवस्था भएपनि आगामी दिनहरुबाट यो धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा निर्माण गर्न आफ्नो भरपुर सहयोग रहने सभापति अर्यालले बताउनुभयो । निर्वाचनपछि आफ्ना मतदातालाई भेट्न आउन नसकेको बताउदै सभापति अर्यालले यो महायज्ञ मार्फत आफ्ना मतादातालाई समेत भेट्ने अवसर दिएकोमा आयोजकलाई सभापति अर्यालले धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङ, वालिङ १३ का वडाअध्यक्ष नमलाल डुम्रे, जनपत्रकार महासंघका निर्वतमान अध्यक्ष प्रकाश डुम्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य शोभा गैह्रे, स्थानीय शिक्षाविद् तथा आयोजक सदस्य होमकान्त गौतम, आयोजक जगदिश गैह्रे लगायतले एक महिने महायज्ञ आयोजना गरेर यस क्षेत्रको प्रचारप्रसार र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।
महायज्ञको कथावाचन पण्डित प्रकाश तिवारीले गर्नुभएको थियो । एक महिना लामो प्रवचन गर्नुभएका पण्डित तिवारीलाई आयोजकले भब्य सम्मान सहित उहाँको बिदाई गरिएको थियो । शिव पार्वती त्रिवेणी धाम मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको एक महिने शिव पुराणको मुख्य उदेश्य आइटी पार्क, अथिति आश्रम, पुस्तकालय, १०८ धारा निर्माण र शिवजीको ठुलो मुर्ति राख्ने लगायतका समेटिएका छन् । अहिले सम्म महायज्ञबाट ३० लाखभन्दा बढी रकम दानदाताबाट संकलन भएको र झण्डै १७ लाख बच्ने अनुमान आयोजकको रहेको छ । महायज्ञ मुलआयोजक समितिका अध्यक्ष दिपेन्द्र गैह्रेको सभापतित्वमा सम्पन्न भएको महायज्ञको संचालन सचिव यज्ञ पाठकले गर्नुभएको थियो । साउन १ गतेदेखी शुरु भएको महायज्ञको ३१ गते समापन गरिएको हो ।