अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

जिम्मेवारीले खारिंदै, अनुभव संगाल्दै ‘गंगा’

news

 
तोलाकान्त बगाले
वालिङ, २ भदौ ।
 
 
वडावासीको विश्वासलाई जितेर वि.सं २०७९ देखि अविछिन्नरुपमा सेवामा लागिरहेको नाम हो गंंगा शर्मा । कक्षा ६ मा पढ्दै गर्दा सानै उमेरदेखि नै उहाँले नेतृत्व लिएर अगाडि बढ्दै आउनुभयो । 
जीवन भोगाईकाक्रममा अनेकन आरोह अवरोह पार गरेर अहिले जिन्दगीको ५० औं वसन्तमा हुुनुहुन्छ । सानै उमेरदेखि नेतृत्व लिएर अगाडि बढ्नेक्रममा सुखदुःखमा सहकार्य गर्दै अगाडि बढ्ने खुवीकैकारण पार्टीले उहाँलाई वालिङ १० को वडा सदस्य पदको टिकट थमायो । टिकट पाउनुभन्दा पूर्व उहाँले टोल तथा समूहहरुमा अगुवाईकासाथ काम गर्नुभएको र टोल तथा समूहहरुमा परिचित भएकैकारण पनि वडावासीहरुसँग उहाँको सापिप्यता थियो । 
टोल, संघसंस्था तथा समूहहरुमा आयोजना हुने कार्यक्रमहरु, योजनाहरु लगायतका सामाजिक कार्यहरुमा अगुवाई भएर पाएको जिम्मेवारी पूरा गर्ने गरी निरन्तररुपमा लाग्नु नै उहाँले निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने बलियो र कसिलो आधार थियो । फलत ः २०७९ वैशाखमा भएको निर्वाचनमा उहाँ वालिङ १० को महिला सदस्य पदमा भारी (७९३) मतसहित विजयी हुनुभयो । वडावासीहरुले आँफूलाई विश्वास गरेर दिनुभएको जनमतको कदर सम्मान गर्दै उहाँहरुले दिनुभएको जिम्मेवारी कुशलतापूर्वक सञ्चालन गर्नुपर्ने, आग्रह, पूर्वाग्रह विना समान तरिकाबाट संकल्पसहित आँफूलाई अगाडि बढाउनुभयो । 
“जनप्रतिनिधिहरुसित वडावासीहरुले आफ्नो ठाउँमा विकास निर्माण भईदिए हुन्थ्यो, योजनाहरु सञ्चालन गर्न पाए हुन्थ्यो भनेर माग गर्नु स्वभाविक हो” उहाँले भन्नुभयो, “सीमित स्रोत र असीमित योजना तथा चाहनाकाकारण पनि वडावासीहरुले राख्नुभएका मागहरुलाई हामीले सम्वोधन गर्न सकिरहेका हुँदैनौं, योजनाहरुलाई प्राथमिकीकरण गरी आवश्यकताका आधारमा  क्रमशः नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गरी कार्यान्वयन गर्दै आएका छौं ।” 
वडा कार्यालयले उपलब्ध गराउने सेवाहरुसहित वडाभित्रको विकास निर्माणमा अध्यक्षसहित सबै जनप्रतिनिधि तथा कर्मचारीहरु एकापसमा सरसल्लाह गरेर काम गर्ने गरेकाले पनि सहज भएको उहाँ बताउनुहुन्छ । एकापसमा सरसल्लाह गरेर काम गर्दा जस अपजस सबैलाई उत्तिकै हुने गरेको अनुभव उहाँको छ । 
वडा कार्यालयमा वडा अध्यक्षको अनुपस्थितिमा कार्यवहाक वडा अध्यक्ष भएर कार्य सम्पादन गरेको अनुभव उहाँसँग छ । जनप्रतिनिधि भईसकेपछि आफ्नो जिम्मेवारी, काम कर्तब्य अधिकारकाबारेमा जानकारी नभएका बेला द एशिया फाउण्डेशनको प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपाल को आयोजनामा वालिङ नगरपालिकासँग समन्वय गरी वालिङ नगरपालिकाभित्रका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिकालागि सञ्चालित कार्यक्रमले निक्कै सहज भएको उहाँले बताउनुभयो । 
जनप्रतिनिधि भईसकेपछि के गर्ने कसो गर्ने, प्रक्रिया तथा कानूनी विषयहरुकाबारेमा यथेष्ट जानकारी थिएन । दलित महिला केन्द्र नेपाल ले महिला जनप्रतिनिधिहरुलाई केन्द्रीत गरी दिएको तालिमले धेरै कुरा सिकाएकाले दैनिक कार्य सम्पादनमा अल्झिनु नपरेको उहाँको अनुभव छ । वडा सदस्यमा विजयी हुनुभएकी शर्माले कार्यवहाक वडा अध्यक्ष भएर काम गर्दै गर्दा कहिलेकाँही फरक विषयवस्तुहरु आईहालेमा वडा अध्यक्ष वा नगरपालिका कार्यालयमा सोधेर जानेर बुझेर आँफू ढुक्क भएर मात्रै सेवाग्राहीलाई सेवा दिने गर्नुभएको छ । 
वडाबाट दलित तथा गैर दलित महिला दिदीबहिनीहरुको क्षमता विकासकालागि तालिमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो । हिजो आफ्नो कुराहरु ब्यक्त गर्न नसक्नेहरु आज निर्धक्कसित आँफूलाई लागेका कुराहरु, फरक धारणाहरु महिला दिदीबहिनीहरुमा आउने गरेको छ । वडा कार्यालयले लक्षित वर्गकालागि बजेट विनियोजन गरेर कार्यान्वयन गरिरहेको छ । महिला दिदीबहिनीहरुलाई आत्मनिर्भरता अथवा आयआर्जनसँग जोड्नकालागि तालिम दिईएको र ब्यावसायिकरुपमा अगाडि बढ्न तथा उत्पादित सामग्रीको बजारीकरणकालागि समेत सहयोग गर्न सकिनेमा उहाँ विश्वस्त हुनुहन्छ । महिला सहभागितामा जोड दिंदै वडा कार्यालयमार्फत कुखुराका चल्ला वितरण, होमस्टे सञ्चालनसम्बन्धी तालिम, उपभोक्ता समिति गठन गर्दा सकेसम्म महिलाहरुलाई प्राथमिकता दिंदै अगाडि बढेको उहाँ बताउनुहुन्छ । 
वडावासीहरुको मागका आधारमा धर्म, संस्कार संस्कृति चालचलनको जगेर्ना तथा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरणकालागि मादल बजाउने तालिम प्रदान गरिएको थियो । काम गर्नेक्रममा सहज असहज जस्ता पनि परिस्थितिहरु आउन सक्ने भएकाले चनाखो भएर वडावासीहरुको सेवामा उहाँ निरन्तररुपमा जुटिरहनुभएको छ । “समस्या आईप¥यो भनेर अत्तालिने नभई त्यहीँभित्रै समाधान खोज्नतिर लाग्छु” उहाँले भन्नुभयो, “नागरिकहरुका समस्याहरुलाई समाधान गर्न सक्दाको खण्डमा आँफूलाई आत्मसन्तुष्टि मिल्ने, जनप्रतिनिधिको भूमिकाका अनुसार चल्न सकें भन्ने लाग्दो रहेछ ।”
घर परिवारबाट पनि पूर्णरुपमा साथ र सहयोग भएकाले वडावासीहरुको सेवा अथवा सामाजिक सेवाका क्षेत्रमा अगाडि बढ्न थप उर्जा मिलेको उहाँले बताउनुभयो । बसोबास वडा कार्यालय नजिकै भएकाले पनि दैनिक जसो वडा कार्यालयमा पुगेर सेवाग्राहीका समस्या, अप्ठ्यारा तथा समाधानकालागि छलफल गर्दा पनि आँफूलाई सिक्ने अवसर मिलेको उहाँ बताउनुहुन्छ । गत निर्वाचनमा पार्टीले विश्वास गरेर टिकट दिएर निर्वाचनमा पठायो । आफ्नो पदीय जिम्मेवारी अनुरुप कार्य गर्नुभएकी शर्मालाई आगामी निर्वाचनसम्बन्धी प्रश्न गर्दा भन्नुहुन्छ “गत निर्वाचनमा पनि पार्टीले वडा सदस्यको टिकट दियो, आगामी निर्वाचनमा जिम्मेवारी पाउँछु पाउँदिन त्यो पार्टीले नै निर्णय गर्ला, पाएको खण्डमा जुनसुकै पदकालागि जिम्मेवारी लिएर काम गर्न सक्षम र तयार पनि छु, तथापि त्यो भविष्यकै पोल्टामा छाडिदिऔं ।”
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...