समाचार
सुन्तलीटारको पुरानो चौपारी संरक्षण
वालिङ, ३ भदौ ।
चापाकोट नगरपालिका ९, सुन्तलीटारस्थित पुरानो चौपारी संरक्षण थालिएको छ । धेरै वर्ष पुरानो चौपारी भत्किएर जीर्ण भएपछि पुननिर्माण गरी संरक्षण थालिएको हो ।
चौपारी संरक्षणका लागि गण्डकी प्रदेश सरकारले रकम विनियोजन गरी डिभिजन वन कार्यालय स्याङ्जामार्फत कार्यान्वयन भएको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अमरबहादुर पराजुलीले जानकारी दिए । ‘धेरैजसो ठाउँहरुमा सडक निर्माण गर्नेक्रममा बाटोको दायाँबायाँ रहेका पुराना चौपारीहरु फालिएका छन्,’ उनले भने, ‘पुराना ऐतिहासिक सम्पदाकारुपमा रहेका चौपारीहरुको संरक्षणका लागि पुनःनिर्माण अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौं ।’
चापाकोट नगरपालिकाको मुख्य बजार सुन्तलीटार नजिकै पुरानो चौपारी पुननिर्माण गरिएसँगै अहिले उक्त ठाउँमा दिउसोको प्रचण्ड गर्मी तथा साँझको समयमा छहारीमा गई आरामसहित शीतलता लिनेहरु प्रशस्तै स्थानीयहरु भेटिन्छन् ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा स्याङ्जामा गण्डकी प्रदेशबाट एउटामात्रै बगैँचा चौपारी निर्माणका लागि बजेट विनियोजन भएर आएको पराजुलीले बताए । चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि भने पुराना चौपारी संरक्षण गर्न संख्या र बजेट थपिएर आएको छ । चौपारी संरक्षणका लागि प्रदेश सरकारबाट गत आव २०८१÷०८२ मा तीन लाख बजेट विनियोजन भएको थियो ।
कार्यालयले पुराना चौपारीहरु संरक्षणका लागि चौपारी निर्माण गरी ब्यवस्थित गर्ने, तारबार गर्ने, चौपारीका लागि आवश्यक पर्ने बिरुवाहरु उपलब्ध गराउँदै आएको छ । ‘स्याङ्जाको तराई’ का रुपमा चिनिने चापाकोट कालीगण्डकी नदीले बनाएको समथर भूभागमा अवस्थित छ । चापाकोटको मुख्य बजार सुन्तलीटार बजारनजिकै चौपारी बनाइएको छ । चाापकोटस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानछेउमै चौपारी रहेकाले पनि बालबालिकाहरुलाई खेलेर विश्राम लिन तथा दर्शकका लागि पनि चौपारीमा बसेर खेलको आनन्द लिन सहज भएको बगैँचा चौतारो निर्माण समितिका सचिव ढाकाराम डोटेल बताउँनुहुन्छ । ‘पछिल्लो समय पुराना चौपारीहरु हराउँदै जान थालेका छन्,’ उहाँले भन्नुभयोे, ‘हिजो हाम्रा पूर्खाहरुले निर्माण गरेको चौपारी आज हामीले संरक्षण गर्दै भोलिका पुस्तालाई हस्तान्तरण गर्न सक्नुपर्छ भन्ने लागेर चौपारी पुनःनिर्माण गरेका हौं ।’
बर, पीपल, स्वामीजस्ता बिरुवा लगाएर ठूलो बनाइसकेपछि चौपारी निर्माण गर्ने र बरपीपलको विवाह गरिदिने परम्परा थियो । तर समयको कालखण्डसँगै आज उक्त परम्परा बिस्तारै हराउँदै गएको छ । प्रचण्ड गर्मी हुने चापाकोटमा निर्माण गरिएको उक्त चौपारीमा ढुंगाको पर्खाल लगाएर माथिल्लो भागलाई प्लास्टर गरी चिल्लो बनाइएको छ । चौपारीमा विशेषगरी ज्येष्ठ नागरिकहरु फुर्सदको समय चौपारीको शीतलतामै दिन कटाउने गरेको पाइन्छ । चौपारी तथा रुख रंगरोगन गरेर थप आकर्षक र व्यवस्थित बनाइएको चौतारो निर्माण समिति सचिव डोटेलले बताउनुभयो ।