समाचार
अवैध सामान प्रहरीद्धारा बरामद
वालिङ, ५ भाद्र ।
नेपालीहरुको मुख्य पर्व तिज, दशैँ, तिहार जस्ता पर्वहरु नजिकिएसंगै प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । विशेष गरी लागू पदार्थको ट्रान्जिट बनेको सिद्धार्थ राजमार्गमा पछिल्लो समय अवैध सामानहरु पनि ओसारपसार हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुले चेकजाँचलाई कडाई गरेका हुन् । केहि दिन अगाडि मात्रै प्रहरीले १ लाख ६० हजार भन्दा धेरैको अवैध समान बरामद गरेको थियो भने फेरि झण्डै १ लाखको बिल नभएको जुक्ताहरु बरामद गरेको छ ।
प्रहरीले फेँदिखोला गाउँपालिका २ मा बेलहियाबाट पोखरा जाँदै गरेको ग १ ख २१४४ नम्बरको यात्रुबहाक बसबाट बिल नभएको अवैध ९९ हजार मुल्यको ६६ जोर जुत्ता बरामद गरेको हो । दर्ता नभएको कम्पनीको बील पेस गर्ने बसका सहचालक चापाकोट १ का सगुन रेग्मी नियन्त्तणमा लिई अनुसन्धान तथा कारबाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो समय फरार प्रतिवादी नियन्त्रणलाई तिव्र बनाएको छ । अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका मध्ये ३ जनलाई पक्राउ गरी जरिवाना असुलको जिल्ला अदालतमा उपस्थित गराईएको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाँची मालारानी गाउँपालिका ७ का आस्मा भट्टराई, पुतलीबजार ६ टक्सारका यमुना गुरूङ र पुतलीबजार ६ टक्सार कै अन्जना गुरूङ रहेका छन् । उनीहरु चेक अनादर, अंशवण्डा सम्बन्धी कसुरका कसुरदार हुन् ।