समाचार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अर्जुनचौपारी उत्कृष्ट
वालिङ, ५ भाद्र ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा आ.व. २०८०÷८१ मा उत्कृष्ट ६ स्थानीय तहमा पर्न सफल भएको छ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन , सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले उच्चतम अंक ल्याउँदै देशकै उत्कृष्ट पालिकाको स्थान हासिल गरेको हो । संघीय सरकारले आगामी भदौ ६ गते सिंहदरबारमा आयोजना गर्ने “सम्मान तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली” शुभारम्भ कार्यक्रममा अर्जुनचौपारी लगायतका उत्कृष्ट स्थानीय तहहरूलाई मन्त्रीस्तरीय सम्मान प्रदान गर्ने भएको छ ।
केही वर्षअघिसम्म पूर्वाधार र सेवाप्रवाहमा कमजोर ठानिएको अर्जुनचौपारी गाउँपालिका अहिले देशैभर उत्कृष्ट प्रदर्शन गर्ने पालिकामा रुपान्तरण भएको छ । पारदर्शी प्रशासन, युवा सहभागिता, डिजिटल प्रविधिको प्रयोग, नवप्रवर्तन र समावेशी योजनालाई प्राथमिकतामा राख्दै आउनुभएको पालिका अध्यक्ष प्रकाश तिवारी हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० प्रभावशाली युवा’ को सूचीमा समेत समावेश हुनुभएको थियो । यसले पालिकाको समग्र व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याएको छ ।