समाचार
वालिङ डान्स आइडल स्थगित, आयोजकले टीकटको पैसा फिर्ता गर्ने
वालिङ, ६ भदौ ।
स्याङ्जाको वालिङमा यहि भदौ ७ गते गर्नेे भनिएको वालिङ डान्स आइडल स्थगित हुने भएको छ । ड्रप बीट एकेडेमी बुटवलले सञ्चालन गरेको डान्स आइडलको फाइनलसहितका कार्यक्रम स्थगित भएको सञ्चालक सदस्य विश्वास थापाले जानकारी दिनुभएको छ । ७ गते फाइनल प्रतिष्पर्धा गराउनका लागि आयोजकले टीकट वितरण गरेको थियो । अडिसन राउण्डबाट १९ जनालाई फाइनलका लागि छनौट गरिएको थियो । प्रतियोगिता स—साना बालबालिकाहरुकाबीच गराइएको थियो ।
आफ्ना छोराछोरी फाइनलमा पुगेपछि अभिभावकहरुले आयोजकद्वारा दिइएका रु.१ सय ५० मूल्यको टीकट विक्रिका लागि खटिएर लागेका थिए । यही टीकटलाई नै भोटिङको मान्यता दिने आयोजक सदस्य थापाको भनाई थियो । प्रतिष्पर्धीका अभिभावकका अनुसार जति सकिन्छ टीकट विक्रि गरेर आयोजकलाई दिने र त्यसैबाट भोटिङ गरिदिन्छौं भनेका थिए । टीकटसहितको कार्यक्रम गर्दा स्थानीय सरकार एवम् प्रशासनसँग विधिवत अनुमति लिएर मात्र यस्ता कार्यक्रम गर्नुपछ तर ड्रप बीट एकेडेमी बुटवलले कुनै अनुमति लिएका थिएनन् ।
अडिसन राउण्ड सकिए लगतै वालिङ नगरपालिकामा बुझ्दा कुनै निवेदन र जानकारी नआएको बताएको थियो । फाइनल कार्यक्रम नजिकिदै गर्दा बल्ल कार्यक्रम सम्बन्धी एउटा निवेदन आएको तर आवश्यक कागतजात नभएकाले कार्यक्रम गर्न अनुमति दिन नसकिने नगरपालिकाको सचिवालयले जनाएको थियो ।
सञ्चालक थापाले भन्नुभयो, “हामीले कुनै नराम्रो गर्न खोजेका थिएनौं, प्रशासनले भनेपछि कार्यक्रम स्थगित गर्छौं, पैसा पनि फिर्ता गरिदिन्छौं ।” वालिङमा केही वर्ष पहिला पनि बुटवलबाटै आएर प्रतियोगिताका नाममा पैसा उठाउने यस्तै प्रयास भएको थियो भने प्रशासनद्वारा स्थगित गराइएको थियो ।