समाचार
छाङ्छाङ्दी नेवार समाज परम्परागत संस्कृति संरक्षणमा जुट्यो
वालिङ, १२ भाद्र ।
नेपाली समाजमा विविध संस्कृतिहरु परम्परागतरुपमा प्रचलनमा छन् । विभिन्न जातजाती र समुदायमा आ आफ्ना संस्कार र संस्कृतिहरु परापूर्वकालदेखि नै प्रचलनमा रहँदै आएका हुन् । पछिल्लो केही वर्षयता ती मौलिक संस्कृतिहरुको निरन्तरतामा कमि आइरहेको बेला स्याङ्जाको भीरकोट नगरपालिका ४ को नेवार समाजले आफ्नो परम्परागत संस्कृतिको संरक्षणसहित निरन्तरतामा लागेको छ ।
गाईजात्रा, बाघजात्रा, हिलेजात्रा, कृष्णजात्रा, लाखे नाच तथा झुमाजात्रालगायतका जात्राहरुका लागि छाङ्छाङ्दी प्रशिद्ध ठाउँ हो । पहिले पहिले यहाँ निकालिने जात्रा हेर्नेहरुको निकै भीड लाग्ने गर्दथ्यो ।
प्राविधिक कारणले विगत केही वर्ष रोकिएका नेवारी संस्कृतिमा विद्यमान जात्रालाई निरन्तरता दिनेगरी यो वर्षबाट अगाडि बढाइएको समाजका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो । अहिले साङ्केतिकरुपमा गरिएको र आगामी वर्षदेखि विस्तृतरुप गर्ने समाजले योजना बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
जात्राको निरन्तरतादिनका लागी यसपालीको तीजमा छाङ्छाङ्दीमा झुमा नाच निकालिएको हो । कृष्ण जन्माष्टमीमा कृष्ण भगवानको जन्म भएको र तीजको दिन भगवानको न्वारनको दिन नेवार समुदायले परापूर्वकाल देखि नै झुमा नाच निकाल्ने परम्परा हो । सोही अनुसार छाङ्छाङ्दी नेवार समाजले तिजमा झुमा नाच प्रदर्शन गरेको समाजका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार मूल घरबाट पूजाआजासहित विधिवत गोलेनी नाच निकालिएको थियो भने बजार क्षेत्रमा झुमा नाच प्रदर्शन गरिएको हो । यस अन्र्गगत झुमा नाच, नाग नागेनी नाच र लट्ठीनाच प्रदर्शनपछि समापन गरिएको छ । झुमा नाँच हेर्नका लागि भीरकोट र वालिङ क्षेत्रका धेरैजना मानिसहरुको उपस्थिति रहेको थियो ।