समाचार
चापाकोटमा तीज गीत–नृत्य प्रतियोगिता सम्पन्न
वालिङ, १३ भाद्र ।
स्याङ्जाको चापाकोट ९ सुन्तौलिटारमा चापाकोट बजार व्यवस्थापन समितिको आयोजनामा तीज गीत–नृत्य प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले तीज महिला पर्व मात्र नभई नारीका वेदना, संस्कार, संस्कृति र परम्परासहित राजनीतिक अभिव्यक्तिको माध्यम पनि भएको बताउनुभयो।
उहाँले गीत–नृत्यमार्फत नारी चेतना र नारीवादी सोच अभिवृद्धि गर्न सकिने उल्लेख गर्दै सहभागी सबैलाई शुभकामना दिनुभयो । कार्यक्रममा नगर उप–प्रमुख इशा राना, ईलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख दिपक मल्ल, समाजसेवी शेषकान्त पुरी, नेपाली काँग्रेस नगर सभापति विक्रम सारु, नेकपा एमाले प्रतिनिधि शेषकान्त भण्डारी, माओवादी केन्द्रका प्रतिनिधि ढाकाराम डोटेल लगायतले आफ्ना धारणा राख्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। ३१ टिम सहभागी नृत्य प्रतियोगितामा गल्कोट माविको समूह प्रथम चापाकोट, रोयल डान्स ग्रुप द्वितीय, रुबिना श्रेष्ठ तृतीय र सान्त्वना स्वेता डोटेल हुनुभएको थियो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष हेमन्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत राधाकृष्ण तिवारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शान्ती श्रेष्ठ र पुर्निमा परियारले संयुक्त रूपमा गर्नुभएको थियो ।