समाचार
स्याङ्जामा इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग
वालिङ, १४ भाद्र ।
सरकारले असोज १ गतेदेखी सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट जडान गर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुन थालेको छ । राष्ट्रिय भाषालाई बिस्थापित हुनेगरी अगाडी सारिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय तुरुन्त खारेज गर्न नागरिक स्तरदेखी विभिन्न संघसंस्थाहरुले माग गर्न थालेका छन् । सामाजिक संजाल देखी विभिन्न माध्यमबाट नागरिकहरु र विभिन्न संघसंस्थाले इम्बोस्ड नम्बर प्लेट जडानको बिरोध गरेका हुन् ।
स्याङ्जामा प्राज्ञिक विद्यार्थी परिषद नेपालले ज्ञापनपत्र बुझाएर विरोध गरिएको जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल गण्डकी प्रदेशले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेशका उपाध्यक्ष अरुण अर्याल लगायत परिषदले देवनागिरी लिपि रहितको इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गर्ने राष्ट्रिहित विपरीतको निर्णय तुरुन्त खारेज गरियोस् भन्दै अर्यालले प्रजिअ मार्फत यातायात मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । नेपालको राष्ट्रिय भाषालाई सरकारले प्रयोग नगरे कसले गर्छ ?, नेपाली भाषको सम्मान नेपालमा हुन नसके कहाँ हुन्छ ? भन्ने प्रश्न राखेर जारी गरिएको ज्ञापनपत्रमा सवारी साधनमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गर्ने असोज १ गतेदेखी सबै सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय तुरुन्त खारेज गर्न माग गरिएको छ ।
नेपाली भाषा विस्थापित गरी बाह्रय भाषामा उल्लेखित इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय राष्ट्रिय हित र असंवैधानिक, अव्यवहारिक रहेको भन्दै उक्त निर्णयको प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोर भत्र्सना गर्दछ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतले समेत अन्तिरिम आदेशमार्फत इम्बोस्ड नम्बर प्लेट कार्यन्वयनमा रोक लगाएको उल्लेख गर्दै नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर, धरासायी बनाउने उदेश्यले ल्याइएको यो कार्य भाषामाथीको प्रहार हो भन्ने परिषदको ठहर छ । कमिसनको खेल र समुहगत स्वार्थसिद्धिका लागि देशको भाषा र संविधानको मर्ममाथी नै कुठाराघात गरिरहेको स्पष्ट भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।