समाचार
अन्र्तराष्ट्रिय बेपत्ता दिवस स्याङ्जामा मनाईयो
वालिङ, १५ भाद्र ।
पुतलीबजार नगरपालिका –५ पौवेगौडेका ८५ बर्षीय बल बहादुर थापाले बुढेसकालमा छोराको अनुहार हेरेर मर्ने रहर रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले अन्र्तराष्ट्रिय बेपत्ता दिवसमा शनिबार पुतलीबजार नगरपालिका –१ मा आयोजना गरेको कार्यक्रममा थापाले सरकारको काम गर्ने क्रममा छोरा लोक बहादुर थापा २०६१ भदौ ८ गते सिन्धुपाल्चोकबाट हराएको बताउनुभयो ।
उहाँले हराउनु भन्दा एक दिन पहिला सम्पर्क भएपनि त्यसपछि अत्तो पत्तो नभएको र अहिले सम्म फेला नपरेको बताउनुभयो । साहाराको खोजीमा बाँची रहेको बताउदै थापाले २१ बर्षबाट हराएका छोरालाई खोजीदिन आग्रह गर्नु भएको छ । यस्तै फेदिखोला गाँपालिका–३ कि ५५ बर्षीय गंगा देवी लामिछाने देवर खोजी दिए पाएको राहत फिर्ता गर्ने बताउनु भएको छ ।
आफूले देवरलाई पाए राज्यबाट पाएको १० लाख फिर्ता गर्न तयार रहेको लामिछानेको भनाई थियो । २०५६ साल साउन १६ गते पृथ्वी नारायण क्याम्पसमा कलेज पढ्ने क्रममा देवर हराउनु भएको बताउदै लामिछानेले सरकारले कि लास कि सास दिनुपर्ने बताउनु भएको हो । देवर भएको भए राहतको ठाउँमा करौडौ कमाउने बताउदै लामिछानेले पैसा भन्दा ज्यान ठुलो भएको बताउनुभयो । छोरा हराएसँगै सासुको मानसिक चेतना हराएको बताउदै लामिछानेले बिरामीलाई धेरै दुःख गरेर औषधी गरेको र छ महिना पहिला छोराकै चिन्तामा बित्नु भएको बताउनुभयो ।
यस्तै अर्जुन चौपारी–३ कि रेवती अधिकारीले श्रीमान २०५९ सालमा हराएको र अहिले सम्म केही राहत सम्म नपाएको गुनासो गर्नुभयो । चार छोरा र छोरी पाल्न समेत समस्या भएको विगत सुनाउदै अधिकारीले आफु पनि रोगी रहेको र मजदुरी गरेर बाँचेको बताउनुभयो । लामिछाने, थापा र अधिकारी जस्तै आाँधीखोला –२ कि ७५ बर्षीय लक्ष्मी दमैको ब्यथा पनि उस्तै थियो । २०५८ सालबाट हराएको छोरा खोजी दिन भन्दै सहारा नभएपनि दुःख सुख गरेर बाचेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, प्रहरी उपरीक्ष दधिराम न्यौपाने, रेडक्रस अध्यक्ष दिनेश अर्याल लगायतले बेपत्ता परिवारलाई मलम लगाउन सबैले हरदम पहल गर्नुपर्ने बताउनुभयो । २०५२ साल फागुन १ गनतेबााट नेकपा माओबादीले गरेको शसस्त्र द्धन्द्धमा स्याङ्जाबाट १७ जना राज्य तथा बिद्रोही पक्षबाट बेपत्ता भएका थिए ।