समाचार
अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण
रेडियो आँधीखोला
वालिङ, १९ भाद्र ।
स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ७ः३० बजे भीरकोट नगरपालिका –१ हेलुमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले ग १ त ४६५२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ट्याक्टरल बालुवा ओसारपसार गरिरहेको अवस्थामा फेला परेपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको छ ।
यस्तै, बुधबार मध्यराति १२ः२५ बजे पुतलीबजार नगरपालिका –३ बाढ्खोलास्थित सडकखण्डमा चेकजाँचका क्रममा ग १ त ४७९३ नम्बरको अर्को ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टरमा समेत अवैध रूपमा बालुवा ओसारपसार भइरहेको पाइएपछि अनुसन्धान तथा कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार दुवै घटनामा संलग्न सवारीसाधनमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच स्याङ्जाको गल्याङ नगरपालिका–१, राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध रुपमा ओसारपसार गरिएको जुत्ता र कुर्था बरामद गरेको छ।
प्रहरीले सवारी साधनको नियमित जाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ८५५९ नम्बरको ईभी भ्यानबाट बिलबिजक नभएका सामानहरु फेला पारेको हो। वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ६० जोर ल्ष्पभ र व्यचमबल ब्रान्डका जुत्ता तथा ७५ थान कुर्थासरवाल बरामद गरेको छ।
बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।